काठमाडौं, मंसिर १६: नेपालले सबैभन्दा बढी पदकको आश गरेको मार्सलआर्टका दुई विधा कराँते र तेक्वान्दोमा स्वर्ण पदक थप्ने अभियानलाई खेलाडीहरुले तीब्रता दिएका छन् ।
ललितपुरको सातदोबाटो स्थित कराँते र तेक्वान्दो मुख्यालयमा जारी प्रतियोगिता अन्तर्गत कराँतेको महिला प्रतिस्पर्धामा र तेक्वान्दोको पियरिङ पुम्से स्पर्धामा थप दुई स्वर्ण जित्न खेलाडीहरु सफल भएका छन् ।
कराँतेको महिलातर्फको ४५ केजी तौल समूहमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जित्न सफल भएकी छिन् । उनले बंगलादेशकी प्रतिद्धन्द्धी मोउन्जेरम बोर्नालाई ३/२ अंकले पराजित गर्दै स्वर्ण पदक नेपालको खातामा भर्न सफल भएकी हुन् ।
यस अघि कुसुमले सेमिफाइनलमा श्रीलंकाकी अर अच्सीहइजलाई पराजित गरेकी थिइन भने, यससहित कराँतेमा नेपालले हालसम्म ६ स्वर्ण र २ रजत पदक जित्न सफल भएको छ ।
यता तेक्वान्दोको २९ बर्षमाथिको पियरिङ पुम्से स्पर्धामा आयशा शाक्य र सञ्जीव ओझाको जोडीले नेपाललाई थप एक स्वर्ण दिलाएको छ । आयशाको यो सफलतासहित उनले एकै दिन दुई स्वर्ण जित्न सफल भएकी छिन् । यस अघि कराँतेका मण्डेकाजी श्रेष्ठले एकै दिन २ स्वर्ण जितेका थिए ।
आयशा र सञ्जीवको जोडीले ८ दशमलव १६० अंक बटुल्दै स्वर्ण पदक जित्न सफल हुँदा पाकिस्तानका मेहरुन निशा र सबाब अहमदले ७ दशमलव ८६० अंक बटुलेर रजत पदक जितेका छन् ।
यस्तै श्रीलंकाका खेलाडीहरुले ७ दशमलव ८३० अंक र बंगलादेशका खेलाडीहरुले ७ दशमलव ८ दशमलव ८५० अंक बटुल्दै संयुक्तरुपमा काँस्य पदक जितेका छन् ।
यो दुई सफलतासहित नेपालले पदक तालिकामा १२ स्वर्ण , ३ रजत र काँस्य पदक बटुल्न सफल भएको छ ।