काठमाडौं, मंसिर १३: उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधिन सडकको निरीक्षण भ्रमण गरेका छन् ।

उक्त निरीक्षणको क्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव ईलाका र निजगढ स्थित जिरो पोइन्टको स्थलगत निरीक्षण गरी त्यहाँको स्थानीय कमाण्डरबाट वस्तुस्थिति तथा कार्य प्रगतिको बारेमा जानकारी लिएका छन ।
साथै राजदमार क्याम्पमा रहेको नर्सरी र गुणस्तर परीक्षण ल्याबको समेत निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले आयोजनालाई समयमा नै सम्पन्न गर्न आईपर्न सक्ने मुख्य चुनौतिहरुको बारेमा समेत जानकारी लिएका थिए ।
उक्त निरीक्षणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मिराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, रथीवृन्द, अर्थ मन्त्रालयका सह सचिव, सम्बन्धित क्षेत्रका विज्ञहरु र नेपाली सेनाका अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

निरीक्षण भ्रमण सम्पन्न गरी निरिक्षण टोली आजै काठमाडौं फिर्ता भएका थिए।