फास्ट ट्र्याकको परामर्शदाता कम्पनी छान्दाः रद्द गरेको कम्पनी छानिए

रिपोर्ट नेपाल | 2019 Nov 29 | 07:37 am 1403

काठमाडौं, मंसिर १३: काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को परामर्शदाता कम्पनी छान्दा मापदण्ड चुहावट भएको भन्दै पहिले छानिएका कम्पनीको प्रक्रिया रद्द गरेको नेपाली सेनाले नयाँ प्रक्रियाबाट पुनः परामर्शदाता कम्पनी छानेको छ ।

नयाँ प्रक्रियाबाट परामर्शदाता कम्पनी छान्न पुनः टेन्डर आह्वान गरिएकामा २२ विदेशी कम्पनीले इच्छापत्र बुझाएका थिए ।

त्यसमध्ये बुधबार मात्रै ६ वटा कम्पनीलाई सेनाले छानेको हो । नयाँ प्रक्रियाबाट छानिएका कम्पनीमा समेत दुई वटा पुरानै प्रक्रियामा समावेश भएका र मापदण्ड चुहावटका कारण टेन्डर रद्द हुनेमा परेका कम्पनी छन् ।

रद्द भएका कम्पनीमध्ये सुसुङ इन्जिनियरिङ र सिंगापुरको मेनहार्ड फेरि अन्तिम ६ कम्पनीको सूचीभित्र परेका हुन् । नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको नेतृत्वमा रहेको द्रुतमार्ग आयोजनाले अन्तिम ६ वटा कम्पनीको सूची सार्वजनिक गर्दा ती कम्पनी फेरि अटाएका हुन् ।

नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता विज्ञानदेव पाण्डेले पहिलेको प्रक्रियामा समावेश भएका कम्पनीले पुनः भएका वा हुने टेन्डर प्रक्रियामै सहभागी हुन नपाउने भन्ने नरहेकाले उनीहरू नयाँ प्रक्रियामा परेको हुन सक्ने बताए ।

उनले पुनः छानिएका कम्पनीका लागि मूल्यांकन मापदण्ड नै फरक रहेको समेत जनाए ।

पहिले छानिएका र रद्द भएका कम्पनी फेरि भएका वा हुने टेन्डर प्रक्रियामा समावेश नै हुन नपाउने भन्ने छैन । अहिले नयाँ मूल्यांकन मापदण्डअनुसार परामर्शदाता कम्पनी छानिएको छ । उनीहरू पुनः प्रक्रियामा आएका हुन सक्छन्, सैनिक प्रवक्ता पाण्डेले बताए । राजधानी दैनिबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.