प्रधानसेनापतिद्वारा नेपाली सेना र मित्रराष्ट्र ईजरायली सेना बीच सञ्‍चालन भएको तालिमको निरीक्षण

रिपोर्ट नेपाल | 2019 Nov 27 | 07:26 pm 1803

काठमाडौं, मंसिर ११: प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार नेपाली सेनाको विशेष फौजको रुपमा रहेको श्री युद्धभैरव गण र मित्रराष्ट्र ईजरायली डिफेन्स फोर्स बीच उक्त गणमा सञ्‍चालन भएको प्रतिआतंकवाद सम्बन्धि विशेष तालिमको निरीक्षण गरेका छन् ।

उक्त तालिम यही मंसिर ८ गतेबाट शुभारम्भ भई आज ११ गते सैनिक तालिम तथा महानिर्देशकबाट सम्पन्‍न भएको छ ।

प्रतिआतंकवाद तथा एण्टिहाईज्याकिङ्ग सम्बन्धि कारबाहीमा उत्कृष्ट मानिने ईजरायली काउण्टर टेरोरिजम टिमले लामो समयको अन्तरालपछि नेपाली विशेष फौजलाई उक्त तालिम सञ्‍चालन गरेको हो ।

उक्त तालिम निरीक्षणको क्रममा प्रधानसेनापति थापाले आतंकवाद तथा जटिल र संवेदनशील सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना सक्षम रहेको र यस तालिमबाट दुवै देशका विशेष फौजहरुको पेशागत ज्ञान, सैनिक कला तथा इन्टरओपेरेबिलिटी बढाउने अवसर प्रदान भएको बताका थिए ।

उक्त कार्यक्रममा मित्रराष्ट्र ईजरायलका राजदुत बेनी ओमर, रथीवृन्द, अधिकृत लगायत सकलदर्जाको उपस्थिती रहेको थियो ।

मित्रराष्ट्रको सेनाहरुसँग समय समयमा सञ्‍चालन हुने यस किसिमको संयुक्त अभ्यासले पेशागत क्षमतामा अभिवृद्धि भई आतंकवाद र प्रतिआतंकवादको विषयमा थप जानकार भई संभावित आतंकवादबाट हुन सक्ने क्षति न्युनिकरण हुने तथा मित्र राष्ट्रहरुसँगको सैनिक सम्बन्ध अझ मजबूत र प्रगाढ हुने विश्‍वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.