गोली हानाहान हुँदा १४ को मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 25 | 07:11 am 3026

मेक्सिको सिटी, असार ११: मेक्सिकोको सीमा क्षेत्रमा भएका ३ गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागु औषध प्रयोगकर्ताको समूहको संलग्नतामा शनिबार गोलीकण्ड भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तीमध्ये शहरको दक्षिणी क्षेत्रमा भएको एउटा घटनामा ६ जनाको ज्यान गएको हो । गोली हानाहानमा २ घाइते छन् । विश्वकप फुटवल प्रतियोगिता हेर्न जम्मा भएका ८ जनामाथि अन्धाधुन्ध गोली प्रहार हुँदा उनीहरूको ज्यान गएको हो ।

हतियारधारी समूहले गोली प्रहार गरेको सुरक्षा अधिकारीले बताएका छन् । त्यसैगरी नजिकैको अर्को स्थानमा पनि फुटवल हेर्नकै लागि एउटा सैलुनमा भेला भएका ५ जना पनि गोली प्रहारमा मारिएका हुन् । निलो भ्यानमा आएका व्यक्तिले उनीहरूलाई आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

शनिबार बिहानै अरू ३ जनालाई छिमेकीको एउटा भोजबाट निकालेर बन्दुकधारीले हत्या गरेका थिए । यस सहरमा यो एक महिनामा मात्रै १ सय २८ जना मारिएका छन् । सरकारले सन् २००६ मा लागूऔषध विरुद्धको विवादास्पद कानुन जारी गरेपछि झन्डै २ लाख मानिस मारिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी अधिकारीका अनुसार मारिएकामध्ये कति लागूऔषध लगायतका आपराधिक क्रियाकलापमा संलग्न थिए भन्ने बारे यकिन नभएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.