साग : क्रिकेटमा नेपालको पहिलो खेल श्रीलंकासँग

रिपोर्ट नेपाल | 2019 Nov 23 | 12:20 pm 3647

काठमाडौं, मंसिर ७ :  १३ औं दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुरुषतर्फ पाँच देश सहभागी क्रिकेटमा नेपालले पहिलो खेल डिसेम्बर ३ तारिख श्रीलंकासँग खेल्ने भएको हो ।

नेपालले दोस्रो खेल डिसेम्बर ५ मा भुटान र ६ मा माल्दिभ्स र ७ तारिखमा बंगलादेशसँग खेल्नेछ । राउन्ड रोविन लिगका आधारमा खेलाईने खेलमा शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । पुरुष क्रिकेट टियु मैदान कीर्तिपुरमा हुनेछ । साग क्रिकेटमा विश्वकै पावर हाउसको रुपमा परिचित भारत र पाकिस्तानले भाग लिएका छैनन् ।

यसैगरी पोखरामा हुने साग महिला क्रिकेटको पनि खेल तालिका सार्वजनिक गरिएको छ । चार टोली सहभागी महिला क्रिकेटमा नेपालले पहिलो खेल डिसेम्बर २ तारिख माल्दिभ्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल ४ तारिख बंगलादेश र ६ तारिख श्रीलंकासँग खेल्नेछ ।

राउन्ड रोविन लिगका आधारमा खेलिने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन् । महिलामा भारत, पाकिस्तान र भुटानले भाग लिएका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.