हुम्ला, मंसिर ५: यही मंसिर १४ गते हुने उपनिर्वाचनका जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाताबाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको हो ।
जिल्लाका सात गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका अति संवेदनशील पालिका भएकाले चुनावलाई शान्त र मर्यादित बनाउनका लागि जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । उपनिर्वाचनको मौन समय मङ्सिर ११ गते राति ७ बजेदेखि सुरु हुन्छ । सो समयमा खार्पुनाथ गाउँपालिकामा अन्य पालिकाका नागरिक र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा निषेध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिए ।
उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अन्य नागरिकले प्रवेश गर्दा धाँधली हुने सम्भावना बढी देखिएकाले सुरक्षा निकायले पालिकामा प्रवेश गर्न निषेध गरिएको उनले जानकारी दिए । निर्वाचन कार्य सम्पन्न नहुँदासम्म गाउँपालिकाभित्र पूर्णरुपमा कुनै प्रकारका मदिराजन्य उत्पादन तथा बिक्री वितरण गर्न समेत रोक लगाएको छ ।