किन भत्काउँछन् एसएसबीले नेपाली भूमिका संरचना

रिपोर्ट नेपाल | 2019 Nov 20 | 09:00 am 4272

धनगढी, मंसिर ४: कञ्चनपुर पुनर्वास नगरपालिका–४ आनन्द बजारनजिक खोलामा स्थानीयलाई आवतजावतमा समस्या थियो। स्थानीयको समस्या र मागका आधारमा दुई वर्षअघि पुनर्वास नगरपालिकाले कल्भर्ट बनाउन पाँच लाख रुपैयाँ बजेट विनियोजन गर्यो। नेपाली भूभागमै रहेको आनन्द बजारछेउ स्थानीयले श्रमदानसहित तीनवटा ह्युमपाइप राखेर कल्भर्ट बनाउन सुरु गरे। तर सीमाभन्दा सय मिटरवरै नेपाली भूभागमा बनाउन लागेको सो कल्भर्ट भारतीय सीमा सुरक्षाकर्मी एसएसबी आएर भत्काउन थाले।

आफ्नो भूमिमा बनाउन लागेको कल्भर्ट भत्काउन थालेपछि स्थानीयले विरोध गरे। स्थानीयले विरोध गर्दा भारतीय सुरक्षाकर्मीले गोली हानेर नेपाली युवक गोविन्द गौतमको हत्या गरे। भारतीय सुरक्षाकर्मीको गोली नै चलाएपछि सो कल्भट निर्माण हालसम्म पूरा हुन सकेको छैन। आफ्नो भूभागमा कच्ची कल्भर्ट बनाउँदा पनि भारतीय सुरक्षाकर्मीले बनाउन दिएनन्, बनाउन लागेको पनि भत्काइदिए, पुनर्वास नगरपालिका प्रमुख जीवन थापाले भने, नाहकमा नेपाली भूमिमा विकासको पूर्वाधार बनाउँदा निर्दोष युवकको हत्या भयो।

भारतीय सुरक्षाकर्मीले बनाउन नदिएपछि त्यो कल्भर्ट निर्माण अलपत्रमात्र परेको छैन, त्यो घटनापछि स्थानीयले त्यो बाटो हुँदै आवतजावत गर्न नै बन्द गरेका छन्। ठाउँठाउँमा नेपाली भूभाग अतिक्रमण गरेको भारत पक्षले सीमावरै रहेको नेपाली भूभागमा पनि विकासका पूर्वाधार बनाउन दिएको छैन। भारतीय सुरक्षाकर्मीले आनन्द बजारमा मात्र नभई वडा नम्बर ६, ८ र ९ मा पर्ने अन्य नेपाली भूभागमा समेत विकासका पूर्वाधार बनाउन दिएका छैनन्। आफ्नो भूभागमा विकासका पूर्वाधार बनाउन नपाउँदा धेरै समस्या भएको नगरप्रमुख थापा बताउँछन्। भारतीय पक्षले बाटो, कल्भर्ट, काँडेतारलगायत संरचना बनाउन नदिँदा काम गर्न नै धैरै समस्या छ, उनी भन्छन्, भारतले अवरोध गर्दा स्थानीय विकासबाट वञ्चित हुनुपरेको छ। नागरिक न्युज दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.