काठमाडौं, मंसिर २: सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर प्रधानमन्त्री ओलीले रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गरेका छन्।
उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महँगो बनाउन नहुने बताए ।
सरकारले अघि बढाएको आयोजना देश र नागरिकको हितका लागि भएकाले पनि यसमा धेरै महँगो हुनेगरी मुआब्जा लिने काम गर्न नहुने स्पष्ट पारेका थिए । प्रम ओलीले ठूला आयोजनालाई प्रतिकुल प्रभाव पार्नेगरी जग्गाको मुआब्जा लिने काम नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री ओलीले सरकारले ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर देशलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको पनि बताए ।
त्रिशूली थ्री ए जलविद्युत आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्नसक्ने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिए। खासगरी उपत्यकाको विद्युत् आपूर्तिमा सन्तुलन ल्याउन र हिउँद महिनामा भारतसँग आयात हुने विद्युत् न्यूनीकरण गर्न पनि आयोजनाले महत्वपूर्ण योगदान पुर्याउने बताए ।