बारा, मंसिर २: संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले निर्माणमा कुनै अवरोध नआए बारामा प्रस्तावित विमानस्थलबाट पाँच वर्षमै अन्तर्राष्ट्रिय उडान गर्न सकिने बताएका छन्।
विमानस्थल निर्माणका लागि प्रस्तावित क्षेत्रको स्थलगत निरीक्षण गर्न मन्त्रालयको टोली लिएर आइतबार बारा आएका भट्टराईले सरकारले सोहीअनुसार काम गरिरहेको बताए।
उनले महत्वपूर्ण परियोजना निर्माणको काममा अवरोध पुर्याउने गतिविधि नगर्नसमेत उनले आग्रह गरे।
मन्त्री भएलगत्तै विमानस्थलको विषयमा चासो राख्दै आएका उनले पहिलोपटक स्थलगत निरीक्षण गर्न बारा आएका हुन्।
उनले विमानस्थल निर्माण हुने क्षेत्रको निरीक्षण गर्दै प्रभावित बस्तीका स्थानीयसँग छलफलसमेत गरेका छन्।
वर्षौदेखि बसोबास गर्दै आएको थलो छाड्नसमेत राजी भएर विमानस्थल बन्नुपर्छ भन्ने पक्षमा स्थानीय चाहना देखेपछि आफू थप उत्साहित बनेको मन्त्री भट्टराईको भनाइ छ।
हामी विमानस्थलको बाधक बन्दैनौं, हामीलाई सही ढंगबाट पुनर्बास गरियोस् हामी बसोबास छाड्न तयार छौं भन्ने आश्वासन स्थानीयबाट पाएँ उनले भने, यस्तो सहज वातावरण कहीँकतै बन्दैन।
हामीलाई थप उर्जा मिलेको छ। हामी उचित बसोबासको ब्यवस्था गरेर मात्रै काम अघि बढाउँछौ। विमानस्थल निर्माणको सन्दर्भमा बस्ती पुगेका मन्त्री भट्टराईलाई स्थानीयले स्वागत गरेका थिए। अन्नपूर्ण पोष्ट दैनिकबाट