प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरमा तामाको स्वागतद्धार

| 2019 Nov 18 | 07:44 am 4747

ताप्लेजुङ, मंसिर २: नेपालकै प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरमा तामाको स्वागतद्धार (गेट) बनाइएको छ। भक्तजनले मन्दिरमा चढाएका तामा र पित्तल प्रयोग गरी पाथिभरा जाने मार्गको माथिल्लो फेदीमा स्वागतद्धार बनाइएको हो।

भक्तजनले मन्दिरमा चढाएका त्रिशूल, माना, पाथी, दियो जस्ता सामग्रीलाई गालेर फुङलिङ नगरपालिका–१० स्थित ठूलोफेदीमा अवस्थित कान्छी पाथिभरासँगै गेट बनाइएको छ।

कान्छी पाथिभरादेखि पाथिभराको प्रवेशद्धार शुरु भएको मानिन्छ। गेट निर्माणका लागि एक हजार ६ सय केजी तामा प्रयोग गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्धन समितिले जानकारी दिए ।

मन्दिर उत्पत्तिको कथा झल्कने गरी द्वार निर्माण गरिएको र केही समयपछि द्धारको दायाँ–बायाँ तामाकै सिंहका मूर्ति समेत राख्ने तयारी गरिएको छ। चढाइएका सामग्री गेटका लागि प्रयोग गर्ने तयारी गरिएपछि पाथिभरा मन्दिरमा क्षमा पुजा समेत गरिएको थियो।

तामा र पित्तलका सामग्री काठमाडौं ल्याएर गेट तयार गर्दा २६ लाख हाराहारीको रकम खर्च भएको पाथिभरा क्षेत्र विकास समितिका सदस्य इन्द्रनारायण भट्टराईले जानकारी दिए।

गेट निर्माणको गृहकार्य तीन वर्ष अघिदेखि शुरु भएको बताउँदै उजले भने–फुललिङ नगरपालिकाका व्यवसायी सुरेश मादेन र दुवै समिति पदाधिकारीले यस्तो अवधारणा अघि बढाएको हो भक्तजनले चढाउनुभएको सामग्री उहाँहरूकै स्वागतमा प्रयोग भएको छ।

सोही जिल्लाका सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गत कार्तिक पहिलो साता गेटको उद्घाटन गरेका थिए।
ताप्लेजुङको पाथिभरा मन्दिर समुद्र सतहबाट तीन हजार सात सय ९४ मिटर उचाई अवस्थित छ।

अन्न भरेको पाथीझैं पहाडको टुप्पोमा देवीको उत्पतिस्थल रहेकोले भक्तजनले सो धार्मिकस्थल ‘पाथीभरा देवी’का रुपमा पुजा गर्ने प्रचलन छ। मनोकामना पुरा हुने विश्वासका साथ नेपालका अधिकांश भेग, भारत र विदेशमा रहेका हिन्दु, बौद्ध र किराँत धर्मावालम्बी पाथिभराको दर्शनका लागि पुग्ने गर्छन्।

ठूलो फेदीका होटल व्यवसायीसमेत रहेका भट्टराईका अनुसार बडादशैं र चैते दशैंको समयमा पाथिभरामा भक्तजनको चहलपहल निकै बढ्ने गर्छ। मौसम खुलेको समयमा मन्दिर परिसरबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमशृंखला प्रस्टै नियाल्न सकिन्छ।

ठूलो फेदीस्थित अस्थायी प्रहरी चौकीका अनुसार गत दशैंको घटस्थापनादेखि आइतबारसम्म ३७ हजार सात सय ३५ दर्शनार्थी पाथिभरा दर्शनका लागि पुगेका छन्। वार्षिक डेढदेखि दुई लाख दर्शनार्थी पाथिभरा पुग्ने पाथिभरा क्षेत्र विकास समितिको ठहर छ। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.