काठमाडौं, मंसिर १: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भय रहित समाज निर्माणका लागि पर्याप्त साधन र स्रोतलाई अधिकतम प्रयोग गरी जनतालाई केन्द्रबिन्दुमा राखेर लाग्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

आइतबार बिहान १४ औं महानगरीय प्रहरी दिवसका अवसरमा आयोजित विशेष समारोहलाई प्रमुख अतिथिको आसनबाट बोल्दै महानिरीक्षक खनालले अपराध र अपराधिसँग कठोर ढंगले प्रस्तुत हुन निर्देशन दिँदै जनताको नजरमा प्रहरी शासक नभएर सेवक हो भन्ने बनाउन लागि पर्नुपर्ने कुरामा जोड दिएका थिए ।
व्यवसायीक क्षमता आजको आवश्यकता भन्ने मुल मन्त्रलाई ख्याल गर्दै शान्ति सुरक्षा कायम गर्दै अपराध नियन्त्रण गर्न अहोरात्र खट्न निर्देशन समेत महानिरीक्षक खनालले दिएका थिए । काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यले विकृती र विसंगतीको अन्त्य गरी अपराधमुलक समाज निर्माणका लागि आफूहरु प्रहरीसँग हातेमालो गर्न तयार रहेको बताएका थिए ।
प्रहरीको चुस्तता बिना शान्ति सुरक्षा र अमन चयन नहुने हुँदा महानगरपालिका सहकार्य गर्न तयार रहेको शाक्यको भनाई रहेको थियो । पूर्व प्रहरी महानिरीक्षक कुवेर रानाले महानगरीय प्रहरीले नगर समेत हेर्नुपर्ने भएकाले नाम परिवर्तन गरी उपत्यका प्रहरी कार्यालय नामाकरण गर्न सुझाव दिएका थिए ।

शिक्षाविद् प्राडा बासुदेव त्रीपाठीले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रहरी नायब महानिरीक्षक शैलेस थापा क्षेत्रीले धन्यवाद र काठमाडौं परीसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन प्रहरी बरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले गरेका थिए ।