गुल्मीमा हत्या भएका तीन जनाको हत्यारासँगै पहिचान खुल्यो

रिपोर्ट नेपाल | 2019 Nov 15 | 01:32 pm 3629

गुल्मी, कात्तिक २९: गत कात्तिक १६ गते हत्या गरिएको अवस्थामा फेला परेका तीन जनाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचाहनसँगै हत्यामा संलग्नलाई पक्राउ गरी शुक्रबार प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षय पूर्णबहादुर सुनार र १९ वर्षका माधव सुनार रहेका र अर्का एक अभियुक्त फरार रहेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

हत्या हुनेमा मोरङ कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भइ हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षकी सरिता भन्ने शिवमाया लिम्बु र उनका ७ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुना रहेको प्रहरीले बताए।

जिल्ला प्रहरी कार्यालय गुल्मी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अभियुक्तलाई पोखरा महानगरपालिका २५ हेम्जास्थित डेराबाट पक्राउ गरेको प्रहरीले जनाए ।

तीनवटै शव पोष्टमार्टमपछि पाल्पा जिल्ला अस्पतालमा राखिएको थियो । तीन जनाको निर्ममतापूर्वक हत्या गरी कच्ची सडकबाट ४ मिटर पर शव फालिएको अवस्थामा भेटिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.