- महेश सिंह
सिरहा, कात्तिक २८: जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा असंतुष्ट पक्षले विकासको काममा सन्तुष्ट नभएको भन्दै गाउँपालिकामा अध्यक्ष राम बल्भव साह समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

यस गाउँपालिकाको कार्यालयबाट पटक पटक नियम कानून विपरीत कृयाकलाप भईरहेको हुदाँ त्यस्ता काम काज रोक्न वडा अध्यक्ष, जनप्रतिनिधि तथा आम जनता समेतको टोलिले पालिकाको कार्यालयमा गई अध्यक्षलाई ज्ञापन पत्र बुझाएका हुन् ।
गाउँपालिकाबाट वडाको लागि छुटटयाईएको रकममा कटौति, वडा स्तरबाट छनौट गरी दिएको योजनामा आफनो मनोमानीले कटौति, वडा स्तरीय बजेट बााडफाँडमा भेदभाव, अध्यक्ष र उपाध्यक्षको आफ्नो किसिमले मनोमानी जस्ता आरोप लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ५ का अध्यक्ष देव कुमार यादवले लगाएका छन् ।

वडा नम्बर ४ का वडा अध्यक्ष विद्यानन्द साह, ५ का वडा अध्यक्ष देव कुमार यादव र ६ का वडा अध्यक्ष राजेश्वर साह सुडीको अगुवाईमा गएको टोलीले १६ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझ्दै साहले ज्ञापन पत्र स्वीकार गरेका छन् । साहले अब विशेष गाउँसभाको बैठक बोलाएर त्यो अनुसारको योजना बनाई कार्य संचालन गर्ने बताए ।
पतारी पर्यटकीय क्षेत्रमा घोषणा भएको छ यसको लागि हामीले केही न केही गर्नै पर्ने हुन्छ अब बैठक पछि बजेट छनौट गर्नेछौ । तपाईहरु कुनै ठोस योजनाहरु लिएर आउनुस हामी बजेट विनियोजन गर्न तयार छौ । साहले भने ।
१६ बुँदे ज्ञापन पत्रमा एक हप्ताको समय दिइएको छ । एक हप्ता भित्र सुधार भएन भने हामी जनता चरणबद्ध आन्दोलन गरी गाउँपालिकामा ताला बन्दी गरी काम काज बन्द गर्ने र त्यसबाट भएका क्षतिपुर्ति र जनताको पिडा समेतको जवाफदेही पालिका अध्यक्ष र उपाध्यक्षले लिनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको वडा ६ का वडा अध्यक्ष राजेश्वर साह सुडिले बताए ।