भारतले अतिक्रमण गरेको भूभाग सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट

| 2019 Nov 13 | 02:40 pm 2001

काठमाडौँ, कात्तिक । भारतले अतिक्रमण गरेको नेपालको भूभाग कूटनीतिक पहलबाट समाधान खोज्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षामन्त्रालयलगायतलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेको हो । रिटमा नेपालका भू–भाग भारतबाट अतिक्रमित जग्गा तथा सिमाना निर्धारणका लागि आवश्यक कूटनीतिक पहल तथा नीति नियम र निर्देशन गरी राष्ट्रहित कार्य गर्नका लागि परमादेशको माग गरिएको छ ।

धिवक्ता न्यौपानेले दायर गरेको रिटमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भू–भाग भारतबाट अतिक्रमण भइरहेकाले चाँडो कूटनीतिक पहलबाट समाधान गर्नु पर्ने उल्लेख गरेको छ । रिट निवेदनमा नेपालको संविधानमा राष्ट्रियहित तथा राष्ट्रिय सुरक्षासम्बन्धी सार्वभौमसत्ता सम्पन्न जनताको हक अधिकार र राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमानको रक्षा गर्ने भएको व्यवस्थाअनुसार सुरक्षा गर्न माग गरिएको छ ।

सीमामा अतिक्रमित भूमिका बारेमा राज्य मौन बस्दा सर्वसाधारण आमजनतालाई असर परिरहेको हुँदा स्वतन्त्रतापूर्वक सार्वभौमसत्ता सम्पन्न भई बाँच्न पाउनु समस्त नेपालीको अधिकार भएको र सोका लागि कार्यगर्नु सरकार र राज्यको दायित्व भएको रिटमा उल्लेख गरिएको छ ।

नेपालको भू—भाग कालापानी भारतले जारी गरेको नयाँ नक्सामा परेपछि चौतर्फी विरोध प्रदर्शन भइरहेको छ । नेपाल सरकारले पनि भारतले जारी गरेको नयाँ नक्साप्रति असन्तुष्ट जनाउँदै कूटनीतिक रूपमा पहल गर्ने जनाइसकेको छ । उता भारतले भने नेपालको कुनै पनि भू—भाग नमिचेको दाबी गर्दै आएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.