पोखरा, १० असार : पोखरास्थित लेखनाथ महानगरापालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् । मर्निङवाकका लागि शनिबार विहान ५ बजे घरबाट निस्केका पौडेल वेपत्ता भएका हुन ।
उनको शनिबारदेखि नै खोजी गरिए पनि अवस्था जानकारी हुन सकेको छैन । उनी हरियो टिसर्ट लगाएर मर्निङवाकमा निस्केको परिवारजनको भनाई छ । महानगरपालिकामा बरिष्ठ सामाजिक विकास अधिकृत तथा सूचना अधिकारीका रुपमा कार्यरत पौडेलले आफूले प्रयोग गर्ने २ वटै मोवाइल भने घरमै छाडेका छन् । पौडेलले ‘घरमा परिवारका लागि केही गर्न सकिन’ भनेर चिट लेखेर छाडेको परिवारले जनाएको छ ।
पौडेल हराएको भन्दै परिवारले प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छन् । निवेदन आए लगत्तै कास्की प्रहरीले शनिबार विहानैदेखि पौडेल जानसक्ने सम्भावित ठाउँहरुमा खोजी गरिरहेको छ । खोजी आइतबार पनि जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिएका छन् ।
स्थानीयले महेन्द्रपुलबाट सेती नदीमा हामफालेको भन्दै दिएको सूचनाको आधारमा शनिबार प्रहरीले सेती नदी वरपर समेत खोजी गरेको थियो । विहान साढे ५ बजे हरियो टिसर्ट लगाएको व्यक्ति सेती नदीमा हामफालेको देखेको र आफूले तत्कालै प्रहरीमा जानकारी गराएको स्थानीय प्रत्यक्षदर्शी शान्ति श्रेष्ठले बताएकी छन् । प्रहरीले सेती नदी वरपर रेस्क्यू टोली नै प्रयोग गरेर खोजी गरे पनि आझैसम्म केहि पनि पत्ता लगाउन सकेको छैन ।
यता पोखरा लेखनाथ महानगरपालिकाले बरिष्ठ अधिकृत पौडेल हराएकोाप्रति महानगर स्तब्ध भएको उल्लेख गर्दै उनको खोजीमा सघाई दिन अपील गरेको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आइतबार विज्ञप्ति जारी गर्दै पौडेलको खोजी भइरहेकाले त्यसमा सहयोग गरिदिन महानगरवासीमा अनुरोध गर्नुका साथै धैर्यधारण गरेर बसी दिन पनि आग्रह गरिएको छ । प्रमुख जिसीले जारी गरेको विज्ञप्तिमा पोडेलको खोजीका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाइएको छ ।