लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई संसदीय समितिको निर्देशन

रिपोर्ट नेपाल | 2019 Nov 12 | 08:59 am 2930

काठमाडौं, कात्तिक २६: संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । भारत सरकारले गत २ नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा नेपाली भूभागलाई आफ्नो क्षेत्रमा समेटेपछि समितिले सरकारको आधिकारिक धारणा माग्दै यस्तो निर्देशन दिएको हो ।

समितिले सीमा अतिक्रमणको विषय अन्तर्राष्ट्रियकरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

राजनीतिक तथा कूटनीतिक पहलबाट समस्या समाधान नभए सो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्देशन दिएको हो ।

सोमबार बसेको समिति बैठकले सरकारलाई दिएको निर्देशनमा भनिएको छ, सो क्षेत्रलाई नेपालको सार्वभौम अधिकार कायम राख्न तत्काल उच्चस्तरीय राजनीतिक एवं कूटनीतिक पहल गर्नुपर्दछ । दुई देशबीचको कूटनीतिक पहलबाट समस्या समाधान नभएमा यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्न समेत नेपाल सरकारलाई सुझाव छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरी नक्सा तयार पारेको विषयमा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, नेपाली नागरिक र सञ्चारमाध्यमलाई एक ठाउँमा उभिन समितिले आग्रह गरेको छ ।

यो नक्सा त्रुटिपूर्ण छ, त्यसलाई सरकारले पनि स्वीकार गरेको छ, समितिकी सभापति शशी श्रेष्ठले भनिन्, त्यसैले लिम्पियाधुराको काली (स्थानीय भाषामा कुटीयांदी) नदीलाई सीमा मानेर नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएका हौं ।

आमनेपालीले भारतीय अतिक्रमणको विरोध गरिरहेका बेला नेपाल र भारतबीच अन्य सीमा विवादको समेत स्थायी समाधान गर्न समितिले सरकारलाई सुझाव दिएको छ ।

कालापानीलगायतका अन्य सीमा क्षेत्रमा नेपालका तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्था गर्न नेपाल सरकारलाई समितिले अनुरोध गरेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.