पाँचथरमा सोमबार सार्वजनिक बिदा

रिपोर्ट नेपाल | 2019 Nov 11 | 08:40 am 2029

पाँचथर, कात्तिक २५: किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । किराँत समुदायका समाजसुधारक फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा सोमबार पाँचथर जिल्लाको आठओटै पालिकामा सार्वजनिक बिदा दिइएको छ ।

उक्त जिल्लामा एक नगरपालिका र सात वटा गाउँपालिका रहेको पाँचथरको नगर कार्यसमिति र गाउँ कार्यपालिकाको बैठकले राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार दाहालले जानकारी दिए ।

सत्य, शान्ति र अहिंसाका दूत एवं मानव एकताका अभियानकर्मी महागुरु फाल्गुनन्दको विसं १९४२ कात्तिक २५ गते साविकको इलाम जिल्लाको इभाङ गाविस वडा नं ५ चुक्चिनाम्बामा जन्म भएको थियो ।

जगनबाज र हंसमती लिङ्देनका छोरा फाल्गुनन्दको न्वारानको नाम नरध्वज थियो । हातमा फलामको चुरा लगाएका कारण फलामसिंह नामले चिनिएका नरध्वज कालान्तरमा फाल्गुनन्द नामबाट प्रसिद्ध भए । किराँत धर्म, संस्कृति सुधारको काममा अहोरात्र खटिएका फाल्गुनन्दको विसं २००५ सालमा पाँचथरमा देहवसान भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.