काठमाडौं, कात्तिक २४: १८ वर्ष अघि धारिलो हतियार प्रहार गरी हत्या गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ्ग खनियाटार गाउँपालिका वडा नं ३ का गोम लामा तामाङ्ग र शुक लामा तामाङ्ग रहेका छन् ।
२०५९ कात्तिक २९ गते बेलुकी करिब ५ः ३० बजेको समयमा धादिङ्ग साबिक दार्खा गाबिस वडा नं २ स्थित कलङडुङको मुलबाटो देउराली भन्ने स्थानका २४ वर्षीय पशुराम तामाङ्गलाई हत्या गरेका थिए ।
उनीहरुले एकादशीको मेला भर्न गएको मौका छोपी, पुरानो रिसईबी तथा युवतीको विषयलाई लिएर भएको विवादमा धारिलो हतियार खकुरी तथा नाईन स्टिक समेत प्रहार गरी हत्या गरेको अभियोगमा मुद्दा दयार भएको थियो ।
सोही समयबाटै फरार रही गोम लामा तामाङ्ग बैदेशिक रोजगारीको सिलसिलामा दुबई गई ३ वर्ष बसी फर्की आए पश्चात गागलफेदीमा कृषि फर्म तथा घर जग्गाको व्यवसाय समेत गर्दै आएका थिए ।
त्यसैगरी शुक लामा तामाङ्ग कतार तथा मलेशिया समेतमा ६ वर्ष बसेर फर्की मुलपानीमा खाजा नास्ता पसल संचालन गरी बसेका थिए ।
लुकुछिपि बसिरहेको अवस्थामा अभियुक्त गोम लामा तामाङ्गलाई काठमाडौं कागेश्वरी मनहरा नपा वडा नं १ गागलफेदी र शुक लामा तामाङ्गलाई काठमाडौं कागेश्वरी मनहरा नपा वडा नं ६ बाबा चोक मुलपानीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।
पक्राउ परेका अभियुक्तहरूलाई आवश्यक कारवाहीको लागि आइतबार (आज) जिल्ला प्रहरी कार्यालय धादिङ्ग पठाइएको प्रहरीले बताए ।