कास्कीमा बढ्यो चुनावी सरगर्मी : विद्या र खेमराज दुवैले गरे आफूले जित्ने दाबी

| 2019 Nov 07 | 04:58 pm 1476

कास्की, २१ कार्तिक : नेपालीको महान् चाडबाड सकिएसँगै चुनावी वातावरणले फेरि कास्कीको वातावरणमा रौनकता थपिरहेको छ । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा क्षेत्र नं २ को उपनिर्वाचनको सरगर्मीले कास्कीको वातावरण तातिरहेको छ ।

को उम्मेदवार हुने र कसले जनताको मन जितेर आफ्नो पोल्टामा विजयको माला लगाउने भन्ने चर्चा परिचर्चासँगै राजनीतिमा देखिएको नयाँ आयामको बहस समेत भइरहेको छ । राजनीतिमा पुरानो पृष्ठभूमिका अग्रजदेखि नयाँ र युवा उम्मेदवारको कारणले पनि कास्कीमा चुनावी चर्चा बढी भइरहेको छ ।

कास्कीमा हालसम्म ६ पार्टीले मात्रै औपचारिक रुपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । नेकपाले विद्या भट्टराई, नेपाली काङ्ग्रेसले खेमराज पौडेल, साझा पार्टीले रजनी केसी, विवेकशील नेपाली दलले जमुना शर्मा, राप्रपाले रोम भण्डारी र समाजवादी पार्टीले धर्मराज गुरुङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।

यो क्षेत्रमा नेपाली कांग्रेस र नेकपाबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। कांग्रेसका पौडेल र नेकपाका भट्टराई दुबै जनाले आ–आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । कांग्रेस उममेद्वार खेमराज पौडेलले ४ हजारभन्दा बढी मतले आफूले जित्ने दाबी गरेका छन्।

बिहिबार दिउँसो उम्मेद्वारी दर्ता गरे लगत्तै पत्रकारले सोधेका प्रश्नमा पौडेलले भने ‘म चार हजारभन्दा बढी मतान्तरले जित्छु।’ अमेरिकामा ट्रमले राष्ट्रपति जित्छन् भनेर कसैले अनुमान गरेका थिए भन्ने प्रश्न गर्दै उनले आफूले पनि त्यसैगरी जितेर देखाइदिने बताए।

आफूले जित्ने प्रमुख आधार भनेकै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको अलोकप्रियता भएको कांग्रेस उम्मेद्वार पौडेलको भनाई छ। दुई तिहाइको कम्युनिष्ट सरकारले जनताका पक्षमा केही काम गर्न नसकेको उल्लेख गर्दै उनले भने ‘भ्रष्टाचार नियन्त्रण भएको छैन, महँगी बढेको छ, अनि सरकार अलोकप्रिय भएन?’

टिकटका बिषयलाई लिएर पार्टीमा कुनै बिबाद नभएको प्रष्ट पार्दै पौडेलले भने ‘ हिजोसम्म देवराजजी टिकटका लागि प्रतिस्पर्धामा हुनुहुन्थ्यो तर आज मेरो प्रस्तावक हुनुहुन्छ।’

उम्मेदवारी दर्तापछि नेकपाका उम्मेद्वार विद्या भट्टराईले आफ्नो जित सुनिश्चित भएको दाबी गरिन्। जनताले रवीन्द्रलाई दिएको माया सम्मानले नै आफूले उम्मेदवारी दिएको उनको भनाई थियो ।  हिजो अप्ठ्यारोका बेला पनि जितेको ठाउँमा अहिले नेकपाकै वर्चश्व रहेको भट्टराईले बताइन्। उनले आफ्नो उम्मेद्वारी बारे पार्टीभित्र कुनै बिबाद नभएको दाबी गर्दै सर्बसम्मत उम्मेद्वारी दिएको बताइन् ।

२०७४ सालको निर्वाचनमा वामगठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीसँग ८ हजार मतले कांग्रेसका देबराज चालिसे पराजित भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.