डडेल्धुरा, कात्तिक २१: चिकित्सा शिक्षा सुधारको माग गदै डा गोविन्द केसीले गत सोमबारदेखि सुरु गरेको १७ औं चरणको अनशन चौथो दिन बिहीबार पनि जारी छ।
सदरमुकामस्थित डडेल्धुरा अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका छन्।
डा केसीले राखेका मागमा डोटीका विभिन्न ५ वटा संघसस्थाले ऐक्यबद्धता जनाएका छन्। डोटी उद्योग वाणिज्य संघको नेतृत्वमा बुधबार डडेल्धुरा पुगेको टोलीले उनले राखेका मागमा ऐक्यबद्धता जनाएको हो।
अनशनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ। केसीको चिसोका कारण स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको हो।
चिसोका कारण अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको र ब्लड प्रेसर घटेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कंडेलले जानकारी दिए।
उनका अनुसार केसीको ब्लडप्रेसर तलमाथि भइरहेको छ। बुधबार बिहान मात्रै दुई पटक उनको स्वास्थ्य जाँच गरिएको थियो। उनको ब्लडप्रेसर ९०–६० र ६०–४० सम्म पुग्ने बढ्ने भइरहेको छ।