महरालाई थुनामा राख्न अदालतको आदेश

रिपोर्ट नेपाल | 2019 Nov 04 | 05:27 pm 1729

काठमाडौं, कार्तिक १८ : संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारिरीक हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । तत्काल प्राप्त प्रमाण हेर्दा महरालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएको पाण्डेको इजलासले निष्कर्ष निकालेकाे छ ।

प्रहरीले बुझाएको प्रतिवेदनपश्चात सरकारी वकिल कार्यालयले उनलाई जबरजस्ती करणी अभियोगमा बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो।

महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्नेबारे जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि बहस सुरू भएको थियो।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आज चार जना सरकारी वकिलले बहस गरेका थिए।

काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल र हरि रेग्मी तथा सहजिल्ला न्यायाधीवक्ता सृजना ढकालले पीडितको पक्षबाट बहस गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.