काठमाडौं, कात्तिक १८: लामो समयदेखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा धर्मकान्त बास्कोटा नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले डा बास्कोटालाई त्रिविको १९औं उपकुलपतिको नियुक्ति गरेको हो । सिफारिस भएका तीनमध्ये दोस्रो नम्बरमा परेका डा बास्कोटा उपकुलपति भएका हुन्।
प्रम ओलीले डा बास्कोटासँग छलफल गरेपछि उनलाई नियुक्ति गरेका हुन् । बास्कोटालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेल संयोजक रहेको सर्च कमिटीले दोस्रो नम्बरमा सिफारिस गरेको थियो।
प्रम ओलीले आफू निकटलाई उपकुलपति बनाउने अडान कायम राखी भनेकै व्यक्तिलाई उपकुलपति बनाए हुन्। त्रिवि उपकुलपतिको दौडमा तेस्रो नम्बरमा रहेका प्राडा चन्द्रमणि पौडेललाई त्रिविबाहेक अन्य ६ विश्वविद्यालयमध्ये एकमा उपकुलपति बनाउने तयारी भइरहेको बुझिएको छ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनजिक रहेका प्राडा पौडेललाई पोखरा विश्वविद्यालयको उपकुलपति बनाउने तयारी भइरहेको बुझिएको छ। प्राडा पौडेलले विश्वविद्यालयको उपकुलपति बन्न शिक्षामन्त्री एवं विश्वविद्यालय सहकुलपति पोखरेलसमक्ष अनुभव र व्यक्तिगत विवरण पेस गरिसकेका छन्। नेपाल समाचारपत्रबाट