गोरखा, ९ असार : घाटमा जलाउन लागेको शवसहित १७ मलामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित निवेल घाटबाट मृतकको हत्या आशंकामा प्रहरीले छोरासहित मलामीहरुलाई नियन्त्रणमा लिएको हो ।
एक साताअघि छोराको कुटाइबाट घाइते बनेकी आमाको शनिबार बिहान तीन बजेतिर मृत्यु भएको थियो । मसेलस्थित माझथोकका ३५ वर्षीय राजेश विश्व (विक)ले मदिरा सेवन गरेर ७४ वर्षीय आमा विधा विश्वलाई कुटपिट गरी घाइते बनाएका थिए ।
शरीरका विभिन्न भागमा निलडाम भएकी विधाको मृत्यु सोही कुटपिटबाट भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शवलाई पोस्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ भने छोरा राजेशसहित अन्य मलामीहरुलाई घटनाबारे सोधपुछको काम भइरहेको डिएसपी भेषराज रिजालले बताए ।