विद्युतिय धरापमा परी मृत्यु भएका एक युवकको शव गाडिएको अवस्थामा फेला

रिपोर्ट नेपाल | 2019 Oct 30 | 02:41 pm 1641

सप्तरी, कात्तिक १३: बँदेल मार्न थापेको विद्युतिय धरापमा परी एक युवकको मृत्यु भएको । कोशी टप्पु वन्यजन्तु आरक्षको बँदेल मार्ने तयारी गर्दा एक युवक आफैं त्यसको शिकार भएका छन् ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका ५ पथरी टोलका २३ वर्षीय अजयकुमार मुखिया रहेका छन् । उनलाई सातापछि गाडिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए ।

मुखियाको शव त्रियुगा खेलाको छेउमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

गाउँकै रमेश सरदार, श्रीलाल सरदारसहित ५ जनासँग गत कात्तिक १ गते साँझ बँदेल मार्न भनी हिँडेका मुखियाले सोही दिन आफैंले थापेको विद्युतीय धरापमा परी ज्यान गुमाएका थिए ।

कोशी टप्पु वन्यजन्तु आरक्षको बँदेललाई धपाएर विद्युतीय धराप थापिएको ठाउँसम्म ल्याएर मार्ने उनीहरुको योजना थियो । बँदेललाई धपाउने क्रममा अजयकुमारसहित दुई जनालाई करेन्ट लागेको थियो । एक जनालाई सामान्य करेन्ट लागेको थियो भने अजयलाई ठूलो झट्का लागेपछि उनको सोही ठाउँमा मृत्यु भएको बुझिएको छ ।

मृत्यु भएका अजयको शवलाई उनीसँग गएका व्यक्तिहरुले नजिकै गाडेका थिए ।

बँदेल मार्न भनी हिँडेका अजयको मृत्यु भइसके पनि परिवारलाई थाहा थिएन । उनी हप्ता दिनसम्म घर नआएपछि बुवा जनकले खोजी गरिदिन इलाका प्रहरी कार्यालयमा दिएका थिए ।

शंकास्पद ठाउँमा खोजी गर्ने क्रममा त्रियुगा खोला छेउमा झिंगा भन्किरहेको देखिएको र उनको ज्याकेट फेला परेको थियो । ज्याकेट फेला परेपछि अनुसन्धान गर्दै श्रीलाल सरदारलाई उदयपुरको कटारीबाट पक्राउ गरेको डिएसपी मिश्रले बताए ।

यसपछि सरदारले भनेका ठाउँहरुमा खोजी गर्दा समेत अजयको शव फेला पर्न सकेन । यसपछि श्रीलालका १९ बर्षीय छोरा बिजय सरदार माथि शंका लागि नियन्त्रणमा लिएर सोधपुछ गर्दा पहिला गाडेको ठाउँबाट निकालेर आफूसहित तीन जना मिली अर्को ठाउँमा गाडेको भन्दै ठाउँ देखाएपछि उनको शव उत्खनन गरिएको छ जानकारी दिए ।

प्रहरीले अजयको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । प्रहरीका अनुसार अजयको विद्युतीय धरापमा परी ज्यान गएपछि आफूहरु फँस्ने डरले उनको शवलाई माटोमुनि गाडेर अरु फरार भएका थिए ।

श्रीलाल र उनका छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.