प्रधानमन्त्री ओलीद्वारा तिहारको शुभकामना

| 2019 Oct 27 | 09:21 am 1584

काठमाडौं, कात्तिक १०: प्रधानमन्त्री केपी शर्मा ओलीले यमपञ्चक (तिहार) अर्थात् दिपावलीका अवसरमा आइतबार शुभकामना सन्देश जारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले तिहार प्रकृतिको विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताएका छन्। तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिने भएकाले यसले प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको बताए।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, तिहार प्रकृतिसँग र पशुपक्षीसँग मिलेको छ, काग, कुकुर, लक्ष्मी (गाई) र गोरुको पूजा गरिन्छ, त्यसैले प्रकृतिका विभिन्न पक्षबीचको सन्तुलनसमेत यस पर्वमा प्रतिबिम्वित हुने बताएका छन् ।

उनले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताउँदै सन्देशमा भनेका छन्, उज्यालोको चाड भएकाले यसलाई दिपावली पनि भनिन्छ, दीप अर्थात् उज्यालोको प्रतिक बत्ती बालेर चाड मनाउने गरिन्छ, तिहार सयपत्री, मखमलीलगायत फूलहरु प्रयोग हुने चाड हो।

परिवारका सदस्य खासगरी दिदीभाइ–दाजुबहिनीको मिलनको चाड पनि भएकाले यसलाई उज्यालोको चाड, मिलनको चाडका रुपमासमेत लिन सकिन्छ, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

उनले तिहारको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, सुख–समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.