बर्दिया, कात्तिक ९: श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका ६ निवासी ५० वर्षीया दिलमाया दरै रहेका छन् ।
टेलिफोनमार्फत प्रहरीलाई सूचना प्राप्त भएको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।
कार्तिक ७ गते बेलुकी श्रीमान श्रीमतीबीच झगडा भएको खुल्न आएको छ । भोलिपल्ट घरमा कोही पनि नदेखिएकोले ढोका खोली हेर्दा दरै मृत अवस्थामा भेटिएका थिए। घटना स्थलमा मुङ्ग्रो भेटिएको छ । महिलाले दिएको बयानअनुसार श्रीमान अत्याधिक मदिरा पिउने बानी भएका कारण मुङ्ग्रोले हिर्काएको प्रहरीले जानकारी दिए ।
घटना स्थलमा प्राप्त भएका प्रमाणहरु परीक्षणका लागि पठाइएको छ । श्रीमती दरैलाई बाँके जिल्ला खजुरा गाउँपालिका ७ स्थित गुनाना भन्ने स्थानमा फेला पारेको प्रहरीले जानकारी दिए ।
प्रहरीको हिरासतमा राखिएकी उनलाई कर्तब्य ज्यानमुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी बास्तोलाले बताए।