तीन विश्वविद्यालयको उपकुलपति छनौट गर्न आवेदन माग

रिपोर्ट नेपाल | 2019 Oct 24 | 08:19 am 1326

काठमाडौं, कात्तिक ७: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन विश्वविद्यालयको उपकुलपति छनौट गर्न आवेदन माग गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले योग्यताको आधारमा छनोट गर्न आवेदन माग गरेको जानकारी दिए। मन्त्रालयले इच्छुक सरोकारवालालाई एक साता म्याद तोकेको छ।

सोमबार मन्त्री पोखरेलसहितको सर्च कमिटीले कुलपति एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेर त्रिविबाहेक अन्य विश्वविद्यालयमा आवेदन दिएकामध्येबाट उपकुलपति र सेवा आयोगका अध्यक्ष र सदस्य छनौट गर्न सहमति लिएपछि सूचना जारी गरेको हो।

मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्ने भएको छ। मन्त्री पोखरेलसँगै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदी, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) उषा झा र केही अधिकारी सोमबार बिहान ११ बजे प्रधानमन्त्री निवास पुगेका थिए।

दशैंअघि मन्त्री पोखरेलको अध्यक्षतामा गठित सर्च कमिटीले डा भगवान कोइराला, प्राडा धर्मकान्त बाँस्कोटा र प्राडा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको छ। प्रम ओलीले त्रिविबाहेक अन्य विश्वविद्यालयको हकमा योग्यता र विशिष्टताको आधारमा उपकुलपति छनोट गर्न मापदण्ड बनाएर आवेदन माग गर्न निर्देशन दिएका थिए।

सोहीअनुसार मन्त्रालयले सूचना जारी गरेको हो। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति तथा सेवा आयोगका अध्यक्ष, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति र नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, सेवा आयोगका अध्यक्ष र सदस्यको सिफारिसका लागि निवेदन माग गरिएको हो। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.