दाङ, कार्तिक ६ : जिल्ला प्रहरी कार्यालय, दाङले चाडपर्वमा ठूलो अवजमा आउने गरी स्पिकर नबजाउन र चिट्ठा उपहार जस्ताे गैर कानुनी कार्यहरूमा संलग्न नहुन आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय, दाङले एक सन्देश जारी गर्दै शुभ-दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उक्त आग्रह गरेको हो ।
प्रहरी कार्यालय, दाङले सवारी साधनमा यात्रा गर्दा वृद्ध, महिला, बालबालिका र फरक क्षमता भएका यात्रुहरूलाई विशेष प्राथमिकता दिन र सवारी साधनका सवारी चालकहरूले मादक पदार्थ सेवन नगरी सवारी चलाउन आग्रह गरेको छ । यात्रा गर्दा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान र बसको छतमा यात्रा नगर्न नगराउन पनि आग्रह गरेको छ ।
चाडपर्वको नाममा मादक पदार्थ सेवन गरी हुल हुज्जत, झैँ-झगडामा कुटपिट, दङ्गा नगर्न, घर तथा कोठा लामो समय सम्म छाडेर चाडपर्व मनाउन जाँदा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन, जुवा, तास तथा लंघुरबुर्जा जस्ता खेलमा संलग्न नहुन पनि प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै आतिसबाजी, भुई चम्पा, पटका जस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न, धेरै नगद तथा बहुमूल्य गरगहना लगाई कुनै मेला, पर्व, भिडभाड तथा एकान्त ठाउँमा एक्लै हिँडडुल नगर्न र देउसी भैलो खेल्दा मर्यादित दंगले खेल्न पनि प्रहरीको अनुरोध छ ।