काठमाडौं, कात्तिक ४: नेपाली सेनाको पहलता, स्थानीय निकायहरुको संलग्नता तथा स्थानीय बासिन्दाहरुको सहकार्यमा नं १ प्रदेशका विभिन्न स्थानमा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत झापा जिल्लाको तोपगाछी व्यारेक ईलाका, कोशिटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र र धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा आयोजना गरिएको बृहत वृक्षारोपण गरिएको हो ।
उक्त कार्यक्रममा नं १ प्रदेशका माननीय वनमन्त्री जगदिश कुसियत, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र रक्षा सचिव रेश्मीराज पाण्डेले वृक्षारोपण गरेका थिए ।

वृक्षारोपण कार्यक्रम अन्तर्गत कार्तिक ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा तथा रक्षा सचिव रेश्मीराज पाण्डेको उपस्थितीमा झापा जिल्लामा तैनाथ नेपाली सेनाको नं २१ बाहिनी अड्डा, तोपगाछी व्यारेक परिसरमा विभिन्न जातका ७ हजार ५० विरुवाहरु वृक्षारोपण गरिएको थियो ।
सोही दिन नं १ प्रदेशका माननीय वनमन्त्री जगदिश कुसियत, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे, पूर्वी पृतनापति उपरथी अनन्त कार्की लगायत स्थानीय निकायका पदाधिकारीहरु, स्थानीय बासिन्दाहरु तथा नेपाली सेनाका सकलदर्जा गरी करिब ५ सय जनाको उपस्थितीमा कोशिटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती तथा श्रीलंका टप्पु क्षेत्रमा संचालन भएको वृक्षारोपण कार्यक्रममा विभिन्न जातका फलफुल तथा अन्य विरुवाहरु गरी करिब १३ हजार ७ सय ५० विरुवा रोपिएको थियो ।

मध्यवर्ती इलाकास्थित १३ विगाह मध्ये ११ विगाह क्षेत्रमा विभिन्न ७ प्रजातिका फलफुल र २ विगाह क्षेत्रमा अन्य आयमूलक जातका आंप, कटहर, अम्वा, कागती, बेल, गुलमोहर लगायतका विरुवाहरुको वृक्षारोपण गरिएको थियो ।
वृक्षारोपण कार्यक्रमकै सिलसिलामा आज सोमबार धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा समेत विभिन्न जातका ३ हजार १ सय ६० विरुवाहरु गरी जम्मा २३ हजार ९ सय ६० वटा विरुवाहरुको वृक्षारोपण गरिएको छ ।
नेपाली सेनाले संचालन गरेको गो ग्रीन अभियान अन्तरगत संचालित उक्त कार्यक्रमहरु उपलब्धीमुलक र परिणामुखी हुनुका साथै नेपाल सरकारको (एक नागरिक एक फलफुल विरूवा रोपण अभियान) मा समेत यस कार्यक्रमले थप टेवा पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ ।