तासको व्यापारबाट नेपालले दुई करोड ५५ लाख राजस्व संकलन

| 2019 Oct 19 | 03:26 pm 1882

काठमाडौं, कात्तिक २: नेपालले दुई ठूला राष्ट्र चीन र संयुक्त राज्य अमेरिकासहित चार राष्ट्रसँग तासको व्यापार गर्ने गरेको तथ्य फेला परेको छ। चालू आर्थिक वर्षको गत दुई महिनामा नेपालले चीन, भारत, थाइल्याण्ड र अमेरिकाबाट तास भित्र्याएको छ।

तासको माग दशैं तिहारको समयमा बढी हुने गरेको व्यपारीहरूले जानकारी दिएका छन्। त्यसैगरी भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौ महिनामा मात्रै ३३ लाख ४१ हजार २ सय ६ वटा बट्टा तास नेपाल भित्रिएको छ।

नेपालमा सबैभन्दा बढी तास छिमेकी देश चीनले पठाएको तथ्यांकले देखाएको छ। त्यस्तै साउन र भदौ महिनामा २९ लाख ६ हजार १ सय ४१ बटा तास चीनले नेपालमा पठाएको छ। जसको मूल्य चार करोड ४२ लाख २४ हजार रुपैयाँ पर्छ।

त्यसैगरी, अर्को छिमेकी देश भारतबाट नेपालले दुई महिनाको अवधिमा चार लाख ३५ हजार ५८ बट्टा तास भित्राएको छ। जसको मूल्य ३१ लाख पाँच हजार रुपैयाँ रहेको छ।

यसबाहेक अन्य देश संयुक्त राज्य अमेरिका र थाइल्याण्डबाट एक/एक बट्टा तास आयात भएको पनि तथ्य रहेको छ। चालु आर्थिक वर्षमा तासको व्यापारबाट नेपालले दुई करोड ५५ लाख रुपैयाँ बराबरको राजस्व उठाएको छ। त्यसमध्ये चीनबाट मात्र आयात भएको तासबाट मात्रै दुई करोड ४० लाख रुपैयाँको राजस्व उठाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.