कांग्रेस–फोरम समायोजनमा ११ जनाको नाम अझै आएन

रिपोर्ट नेपाल | 2019 Oct 18 | 07:35 am 2679

काठमाडौं, कात्तिक १: नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गत निर्वाचनमा कांग्रेसमा समाहित भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय सदस्य हुने ११ जनाको नाम अझै उपलब्ध गराएका छैनन्।

आफ्नो पार्टीलाई कांग्रेसमा समाहित गराएपछि फोरमका तत्कालीन अध्यक्ष गच्छदार कांग्रेस उपसभापति एवं संसदीय दलको उपनेता बनिसकेका छन्। गत असोज १० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ११ जनासहित अन्य सांगठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन हुने संख्या, पद र अन्य कार्यविधि पारित गरेको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने गच्छदारबाट ती नाम आएपछि हामी सार्वजनिक गर्नेर्छौं। कांग्रेस उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिले तय गरेको संख्या, पद र विधिमा गत वर्ष महासमितिको बैठकमा सहभागी तत्कालीन फोरमका १ सय ४८ जना पर्यवेक्षकसहित २ सय जना महासमिति सदस्य हुने उल्लेख छ।

उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य महेश आचार्य र केन्द्रीय सदस्य दीपक गिरी सदस्य रहेको समायोजन समितिले महासमिति सदस्य २ सयसहित ६ सय जनालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय भएको थियो।

केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेश सभा, प्रतिनिधिसभा, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, गाउँ, नगर–वडा, भ्रातृ संघ र शुभेच्छुक संस्थाको कार्यसमितिमा अझै पनि समायोजन हुन सकेको छैन। प्रवक्ता शर्माका अनुसार जिल्लामा समायोजन प्रक्रिया टुंगिन बाँकी छ। सोही कार्यका लागि उपसभापति गच्छदार बुधबार सुनसरीमा रहेका थिए। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.