सातौं विश्‍व सैनिक गृष्मकालीन खेलकुदको झण्डोत्तोलन कार्यक्रम सम्पन्‍न

| 2019 Oct 17 | 07:07 pm 1911

काठमाडौं, असोज ३०: मित्रराष्ट्र चीनको उहान शहरमा सातौं विश्‍व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगिता सातौं सिआइएसएम सैन्य विश्व खेलमा सहभागी राष्ट्रहरुको झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त झण्डोत्तोलन कार्यक्रममा नेपाली सेनाका खेलाडीहरुले मार्चपास गर्नुका साथै नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । इन्टरनेशनल मिलिटरी स्पोर्टस काउन्सिलले सिआइएसएम प्रत्येक चार वर्षमा संचालन गर्ने यस प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिएको हो ।

सैनिक गौरव र विश्‍व शान्ति नारा सहित मित्रराष्ट्र चीनको उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता संचालन हुने उक्त प्रतियोगितामा नेपाली सेनाले आर्चरी, विच भलिबल, कुस्ती, व्याडमिण्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्रयाक एण्ड फिल्ड, तेक्वान्दो, मोर्डन पेन्टाथलन, सुटिङ्‍गमा गरी १३ वटा खेलमा भाग लिएको छ ।

माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलले विशिष्ट पाहुनाको रुपमा विश्‍व सैनिक खेलकुद प्रतियोगिताको उद्‍घाटन समारोहमा भाग लिने कार्यक्रम रहेको छ ।

नेपालसहित विश्‍वका १०५ मुलुकका १० हजार ७ सय १९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकुद प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ ।

यस खेलकुद प्रतियोगितालाई ओलम्पिकपछिको दोस्रो ठूलो खेलकुद महोत्सवका रुपमा लिने गरिन्छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । यो प्रतियोगितामा विभिन्‍न विधा र समूहमा गरी ३ सय २८ वटा प्रतिस्पर्धा हुनेछन् ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताका विजयी खेलाडीलाई प्रदान गरिने पदकलाई शान्ति र मैत्रीका तारा नाम दिइएको छ भने ट्रफिलाई शान्तिको प्रतिकको संज्ञा दिइएको छ ।

नेपालको राष्ट्रिय खेलकुदमा महत्वपूर्ण योगदान दिदैं आएको नेपाली सेनाको यस प्रकारको सहभागिताले नेपाली सेना र नेपाललाई विश्‍व खेल जगतमा चिनाउनुका साथै पर्यटन वर्ष २०२० लाई समेत प्रवर्द्धन गर्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.