नेकपाको चियापान कार्यक्रममा भएका चर्चाहरु

रिपोर्ट नेपाल | 2019 Oct 17 | 07:51 am 1746

काठमाडौं, असोज ३०: सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणदेखि सभामुख कृष्णबहादुर महरा पक्राउसम्मको चर्चा भएको पाइएको छ।

उक्त अवसरमा सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी भ्रमणमा भएका उपलब्धिको चर्चा गरेका थिए।

दशैंतिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँनयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताए। उनले कानुनी राज्य पालना, सुशासन कायम, भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न लाग्नुपर्नेमा जोड दिए।

आफ्नो नेतृत्वको सरकार बनेपछि वैदेशिक लगानी ४२ अर्बबाट ७६ अर्ब पुगेको बताउँदै नेपालको पानी जनताको लगानी कार्यक्रमबाट धेरै नेपाली जलविद्युत्को शेयरधनी बनेको र खोलौं बैंक खाता कार्यक्रमबाट जनता लाभान्वित भएको दाबी गरे। अध्यक्ष प्रचण्डले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताए।

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणपछि अहिले राजनीतिकरूपले नै उक्त रणनीतितिर जाने समझदारी बन्दै जान थालेको धारणा राखे। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा गरिएका सहमति र समझदारीले नेपाल नयाँ र उज्ज्वल भविष्यतर्फ लम्किएको बताउँदै प्रचण्डले सीबाट नेपाल अब भू–परिवेष्टितबाट भू–जडित देशमा परिणत गर्न चीनको सहयोग रहने प्रतिबद्धता आइसकेकाले मुलुक विकास, समृद्धि र समाजवादको तयारीको नयाँ युगतिर प्रवेश गरेको विश्लेषण गरे।

उनले सी नेपालमा आएर सद्भाव, विश्वास र समझदारीको वातावरण बनेको चर्चा गर्दै यो अवस्थामा नेपालीको काँधमा ठूलो जिम्मेवारी आएको टिप्पणी गरे।अहिलेको परिवर्तन र जनताको संघर्षको उपलब्धिलाई कसैले चुनौती दिन नसक्ने बताउँदै प्रचण्डले संसदमा भएका सबै राजनीतिक दल संविधान, विकास र समृद्धिको नारामा एकमत रहेकाले एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चियापानमा सहभागी हुन दिउँसो तीन बजे आइपुगेका थिए। नेकपाले दिउँसो १२ बजेदेखि ३ बजेसम्म नेता÷कार्यकर्ता र ३ बजेपछि विभिन्न दलका नेता र कूटनीतिक नियोगका अधिकारीलाई निम्तो दिएको थियो।

प्रधानमन्त्री ओलीसँगै बसेर चिया पिउनुभएका सभापति देउवाले मुखमा घाम परेपछि तपाईं (प्रधानमन्त्री)को चुनाव चिह्न सीधै मुहारमा पर्यो भनेर ठट्टासमेत गरेका थिए।

कार्यक्रममा छोटो समय बसेर बाहिरिने क्रममा कांग्रेसले चियापानको शुरुआत गरेको चर्चा गर्दै अरू पार्टीले पनि चियापान गर्नु राम्रो भएको प्रतिक्रिया दिनुभयो। चियापानजस्ता कार्यक्रमले विभिन्न पार्टीबीच आपसी सम्बन्ध बढ्ने र राष्ट्रिय एकताको भावना फैलाउने सभापति देउवाको भनाइ थियो।

सोही अवसरमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई नदिए सदन र सडकमा विरोध गर्ने चेतावनी दिए। पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक पद दिइनुपर्ने बताए।

दुई चरणमा सम्पन्न चियापानमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो। अध्यक्षद्वय ओली र प्रचण्ड, पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, संगठन विभागका प्रमुख वामदेव गौतम, स्कुल विभाग प्रमुख ईश्वर पोखरेललगायत मन्त्री र नेकपाका नेताहरू सहभागी थिए।

दोस्रो चरणको कार्यक्रममा पार्टीका अध्यक्ष प्रचण्ड पूर्वनिर्धारित कार्यक्रममा चितवन गएकाले सहभागी भएन। १२ बजेदेखि ५ बजेसम्म सञ्चालित चियापानमा विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्च पदस्थ पदाधिकारीलगायतको सहभागिता रहेको थियो।

पिउने पानीको हाहाकार

चियापानमा एक लाख जनालाई निमन्त्रणा गरिएको पठाइएको थियो। सोहीअनुसार खानेकुराको तयारी गरिएको थियो।भृकुटीमण्डपमा चियापानका लागि पार्टीका नेता तथा कार्यकर्तासँगै निमन्त्रणा स्वीकार गर्दै पाहुनाहरू सहभागी भएका थिए। तर चिया र खाजा खान पाए पनि सहभागीहरूले पानी पिउन पाएका थिएनन्। पानी खोज्नेको संख्या ठूलो भए पनि पानीको जिम्मेवारी लिएका व्यवसायीले जाममा परेकाले समयमा ल्यान नसकेको जवाफ दिएको नेकपा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए।

पानी पर्याप्त हुँदैन कि भनेर व्यवस्थापन गर्ने पक्षसँग कुरा गर्दागर्दै पनि समयमा पानी आइनपुग्दा व्यवस्थापनमा केही कमजोर हुन पुग्यो। कार्यालय सचिव ढकालले एक लाख निमन्त्रणा दिएकोमा चियापानमा ६० हजार सहभागी भएको दाबी गरे।

महरादेखि सांसद पक्राउको चर्चा

चियापानमा निवर्तनमान सभामुख कृष्णबहादुर महरा नेता तथा कार्यकर्ताको चर्चाको विषय बनेको थियो। सभामुखको कारण जनतासमक्ष जवाफ दिन कठिनाइ भएको विषय नेता र कार्यकर्ताको बीचमा कानेखुसीसमेत भएको देखिन्थ्यो।

यसैगरी कांग्रेसका सांसद आलम र राजपाका सांसद प्रमोद साह पक्राउदेखि बुधबार मात्र सत्तारूढ दल नेकपाका सांसद पार्वत गुरुङलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको सन्दर्भ मुख्य गफगाफको विषय बनेको थियो।

सहभागी भएन राजपा

चियापानमा प्रतिपक्षी दल राजपाका नेता तथा कार्यकर्ताहरू सहभागी भएनन्। राजपाका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले सरकारमा दम्भ बढ्दै गएकाले सहभागी नभएको प्रतिक्रिया दिए।

जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा आफ्ना सांसद प्रमोद साह पक्राउ गरेर सरकारले गलत काम गरेको निष्कर्ष राजपाले निकालेको छ। यादवले सांसद साहको स्वास्थ्यको संवेदनशीलतालाई विचार नगरी सामान्य घटनामा सरकारले पेल्ने काम गरेको आरोप लगाए। एक सिट जितेको राप्रपाका अध्यक्ष कमल थापा भने उक्त कार्यक्रममा सहभागी भएका थिए। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.