काठमाडौंमा चिनियाँ राष्ट्रपतिको सवारी र भव्य स्वागत (फोटो फिचर)

रिपोर्ट नेपाल | 2019 Oct 12 | 07:38 pm 1830

काठमाडौं, २५ असोज : उत्तरी छिमेकी चीनबाट २३ वर्षपछि शीर्ष तहको नेपाल भ्रमण भएको छ। नेपालको लामो प्रतिक्षापछि चीनबाट राष्ट्रपतिको भ्रमण शनिबारबाट शुरु भएको छ। चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणमा शनिबार काठमाडौं अवतरण गरेका छन्।

राष्ट्रपति सी भारतको चेन्नईबाट एयर चाइनाको विशेष विमानबाट काठमाडौं आइपुगेका हुन्। उनी यसअघि भारतको अनौपचारिक भ्रमणमा थिए। राष्ट्रपति सीलाई नेपालको तर्फबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो। सीको स्वागतका लागि विमानस्थल पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी विमानसम्मै पुगेकी थिइन्। राष्ट्रपति सीलाई विमानस्थलमा पञ्चकन्याले फूलका माला दिएर स्वागत गरेका थिए।

राष्ट्रपति सीलाई विमानस्थलमा नै नेपाली सेनाले सम्मानगारथ अर्पण गरेको थियो भने सो अवसरमा दुवै देशको राष्ट्रिय धुन पनि बजाइएको थियो। सम्मानगारथ पछि राष्ट्रपति सीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए।

राष्ट्रपति सीको स्वागतका लागि विमानस्थलमा नै नेपालका विभिन्न जातजाति, समुदायको संस्कृति झल्किने झाँकी पनि प्रस्तुत गरिएको थियो। राष्ट्रपति सी अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सोल्टी होटलतर्फ गएका थिए। राष्ट्रपति सीको स्वागतका लागि राजधानीका सडकलाई विशेष रूपमा सजाइएको थियो।

विशेष गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्मको सडक विशेष रूपमा सजाइएको हो। सीको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडस्थित होटल सोल्टीसम्मको सडकखण्डका विभिन्न स्थानमा बाजागाजासहित विभिन्न जातजातीको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर लगायतका चोकचोकमा बाजागाजासहित र राष्ट्रपति सीलाई भव्य स्वागत गरिएको छ।

विमानस्थलबाट होटल सम्म जाने सडकका छेउ छेउमा रहेका विद्युतका पोलहरूमा दुवै देशका राष्ट्रपतिको तस्वीर राखिएको छ। त्यसैगरी ठाउँ ठाउँमा स्वागतद्वारहरू  बनाउनुको साथै गमलामा फुलहरू सजाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.