नवलपरासी, असोज १७ : नवलपरासीकोको सुस्तापुर्व क्षेत्रको दाउन्नेमा दुई भारतीय नम्बरप्लेटका ट्रकहरु एक-आपसमा ठोक्किँदा बाटो जाम भैरहेको छ ।
दशैँमा घर फर्कन लागेका लामो तथा छोटो दुरीका यात्रुहरु बिहानैदेखि जाममा फसेका छन् । विनय त्रिबेणि गाउँपालिकाकाे २ नम्बर वडामा पर्ने विश्वकर्मा मन्दिरनजिक गत राति ९ बजे ट्रक ठोक्किँदा जाम परेको हो ।
यूपी ५३ सी टी ९३२६ र यूपी ५३ जेजे १२३९ नम्बरको भारतीय ट्रक एकापसमा ठोक्किँदा दाउन्ने क्षेत्रमा पुरै जाम परेको छ । पहाडी बाटो भएकोले पनि जामले यात्रुहरूलाई थप मर्का परेको हो ।
भारतबाट कोईला बोकेर आएका गाडी ठोक्किएका हुन्र, जाम राति नै हटाउन खोजिए पनि सफल नभएकाे र अहिले थप क्रेन ल्याएर हटाउने तयारी भैरहेको छ । तथापि बाटो जामको कारण क्रेन ल्याउन समेत मुस्किल छ । एकतर्फी बाटो केही बेर संचालन भए पनि पुनः जाम लागेको छ ।
प्रहरी जाम हटाउने प्रयास गरिरहेको ईलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।