पहिलोपटक बीपी राजमार्गमा दस्तुर संकलन शुरू

रिपोर्ट नेपाल | 2019 Sep 30 | 07:48 am 1334

काठमाडौं, असाेज १३: सरकारले दशैंको मुखमा पहिलोपटक बीपी राजमार्गमा दस्तुर संकलनको काम शुरू गरेको छ।

सडकमा बढ्दो सवारी चापका कारण सडकको अवस्था जीर्ण बन्दै जाने क्रम बढेपछि सरकारले मर्मत गर्नका लागि बीपी राजमार्गबाट दस्तुर उठाउने काम शुरू गरेको हो।

सडक विभागअन्तर्गत रहेको सडक बोर्डले तीनपटक दस्तुर संकलनका लागि सूचना प्रकाशित गरे पनि ठेक्का नलागेपछि राजमार्गको चार ठाउँमा ढाट राखेर दस्तुर संकलन गरिरहेको छ।

सडक बोर्डले बीपी राजमार्गको धुलिखेल, खुर्कोट, खनियाखर्क र बर्दिवास सडकलाई दुई खण्डमा विभाजन गरेर दस्तुर उठाउन कर्मचारी परिचालन गरेको छ।

सडक बोर्डले धुलिखेल–खुर्कोट सडक खण्डमा दुई वर्षको अवधिमा २३ करोड, १७ लाख, ९६ हजार १ सय रुपियाँ र खुर्कोट–सिन्धुली–बर्दिवास सडक खण्डबाट १५ करोड ३ लाख ७० हजार ४ सय रुपियाँमा ठेक्का लगाउन सूचना प्रकाशित गरेको थियो।

दुई वर्षको अवधिमा बोर्डले करिब ३८ करोड रुपियाँ सवारीसाधनबाट दस्तुर उठाउने लक्ष्य राखेको छ।राजमार्गमा सञ्चालन हुने सवारीसाधनलाई तीन तहमा वर्गीकरण गरेर दस्तुर तोकिएको छ।

ठूला गाडीलाई १ सय २५ रुपियाँ, साना सवारीलाई ५० रुपियाँ र तीनपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनलाई १५ रुपियाँ दस्तुर निर्धारण गरिएको सडक बोर्डले बताएको छ।

सडक बोर्डका निर्देशक सागर ज्ञवालीले बीपी राजमार्गमा उठाइने दस्तुर अन्य सडकमा प्रयोग गर्न नपाइने बताउँदै भने– चार ठाउँमा अहिले दस्तुर उठाउने काम भइरहेको छ, एक महिनामा उठ्ने सवारी दस्तुरको आधारमा मूल्याङ्कन गरेर दस्तुर उठाउन पुनः सूचना प्रकाशित गर्छौं।

क्रसर उद्योग सञ्चालकहरूले स्थानीय प्रशासनको साँठगाँठमा क्षमताभन्दा बढी लोडका ट्रिपर सञ्चालन गर्दा सडक निर्माण भएको छोटो समयमा नै जीर्ण बन्न पुगेको छ।

बीपी राजमार्गमा १० टनभन्दा बढी मालवाहक सवारी सञ्चालन गर्न नपाइने मापदण्ड भएपछि २५ टनभन्दा बढी लोड लिएर ट्रिपर सञ्चालन हुँदै आएका छन्।

सडक टाल्नका लागि मात्र सरकारले वार्षिक करोडौं रुपियाँ लगानी गर्दै आएको छ।दस्तुर उठाउन धुलिखेल–खुर्कोट–सिन्धुली–बर्दिवास सडक आयोजना र सडक बोर्डका करिब ३२ जना कर्मचारी परिचालनभएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्गबाट दैनिक करिब ५ सय सवारी आवत–जावत गर्ने गरेका छन्।सरकारले पृथ्वी राजमार्गअन्तर्गत नौबीसे–मुग्लिन र भैरहवाको भुमहीमा दस्तुर संकलन गर्ने गरेको छ भने महेन्द्र राजमार्गअन्तर्गत हेटौंडा नारायणघाट र नारायणघाट बुटवल खण्डमा पनि सडक दस्तुर उठाउँदै धआएको छ। केही समयदेखि पाँचखाल–मेलम्ची सडक खण्डमा पनि बोर्डले सडक दस्तुर उठाउँदै आएको छ। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.