धादिङ, असाेज १२: जिल्लाको नीलकण्ठ नगरपालिका -१३ मा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिए ।
घाइते हुनेहरुमा नेत्रावती गाउँपालिका- ५ का दलबहादुर तामाङ, हस्तकुमारी तामाङ लक्ष्मी गुरुङ, चेन्डे दमाई, सान्त माया गुरुङ रहेका छन् । बसमा चालक सहचालकसहित जम्मा ७ जना यात्रु भएकाले धेरै क्षति हुन नपाएको स्थानीयले बताए ।
बा ४ ख ५७९३ नम्बरको बस नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङवेशी तर्फ आउँदै गर्दा नीलकण्ठ नगरपालिकाको केरौँजा गाउँमा आइपुगेपछि दुर्घटना भएकाे हाे । बस सडकबाट धानखेतमा खसेको थियो । बस सह-चालकले चलाएकाे उद्धारकर्मी भीम तामाङले बताए ।
उनकाे भनाइ अनुसार उनी पनि त्यही बसमा आएकाे र बाटोमा पटक पटक दुर्घटना हुन खोजेको थियो। चालकको लापरवाही देखेपछि भीम १ किलोमिटर तलै ओर्लिएपछि त्यसकाे केही बेरमा बस दुर्घटना भएका जनाए।
दुर्घटनामा गम्भिर घाइतेहरुलाई नेपाली सेनाको एन ए ०६१ हेलिकप्टरमार्फत नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ६४ बर्षीय दल बहादुर तामाङ, सोही स्थानकी ५५ बर्षीया हस्त माया तामाङ, ४८ बर्षीय चन्द्रा भनिने राजु परियार, ६० बर्षीया शान्तिमाया भनिने सन्तमाया तामाङलाई काठमाडौँ ल्याइएको छ ।