नेकपामा कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रक्रिया अन्तिम चरणमा राेकियाे

रिपोर्ट नेपाल | 2019 Sep 29 | 09:08 am 1555

काठमाडौं, असाेज १२: सत्तारूढ नेकपामा दुई अध्यक्षबीच कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो समय दिनहुँजसोएक्लाएक्लै छलफल भइरहे पनि जिम्मेवारी बाँडफाँटबारे कुरा मिल्न सकेको छैन ।

ओली र दाहालले शुक्रबार बिहानसमेत छलफल गरेका थिए । प्रधानमन्त्री ओली स्वास्थ्योपचार गराउन दोस्रो पटक सिंगापुर जानुअघि पार्टी एकीकरणका धेरै काम सकिएका थिए ।

‘त्यसरी एकीकरणका काम धमाधम टुंगिनुको कारण अध्यक्षहरूबीच भएको मौखिक समझदारी हो । त्यसलाई पालना गर्न पछिल्लो समय प्रधानमन्त्रीले आनाकानी गरिरहनुभएको छ,’ दाहाल निकट स्रोतले कान्तिपुरसँग भन्यो ।

स्रोतका अनुसार दसैंअघि नै पार्टी एकताका सबै काम सक्ने र त्यसपछि दाहाललाई कार्यकारी अध्यक्ष बनाउने गरी विधान संशोधनको प्रस्ताव स्थायी समिति बैठकमा लैजाने सहमति दुई अध्यक्षबीच भएको थियो । त्यति बेला वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गराउने समझदारीसमेत भएको थियो । उक्त सहमतिअनुसार नै नेकपा केन्द्रीय विभागको नेतृत्वमा देखिएका धेरै विवाद सल्टिएर विभागहरूले नेतृत्व पाएका थिए ।

असोज ४ को बैठकले ६ वटा महानगरमा अध्यक्ष र सचिव मनोनयन गरेको थियो । नेकपाले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च र प्रवास कमिटीको नेतृत्व टुंगो लगाउन बाँकी छ । कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.