गृहकाे निर्देशनपछि नौबिसे–नागढुंगा सडकखण्डको सवारी आवागमन सहज

रिपोर्ट नेपाल | 2019 Sep 29 | 08:08 am 1629

काठमाडौं, असाेज १२: नौबिसे–नागढुंगा सडकखण्डको सवारी आवागमन सहज बनाउन पहल सुरु भएको छ । सो सडकखण्डमा देखिएको व्यवस्थापकीय कमजोरीको पक्षमा सुधार ल्याउन पहल थालनी भएसँगै सवारी आवागमन सहज बन्ने अपेक्षा गरिएको छ ।

सडकखण्डमा लगातारको लामो सवारी जामका कारण केही दिनदेखि यात्रुहरु मर्कामा पर्दै आएका छन् । घण्टौं जामका कारण सरकारप्रति नै जनआक्रोश बढ्दै गएको छ । अत्याधिक जामकै कारण एक व्यक्तिको ज्यान गएपछि आक्रोशको पारा थप बढेको हो ।

ज्यानै जानेगरी जाम हुन थालेपछि सरकारले समाधानको प्रयास थालेको छ । गृहमन्त्री रामवहादुर थापा ‘बादल’ ले सबै पक्षलाई बोलाएर तत्काल समस्या समाधानका लागि निर्देशनसमेत दिएका छन् ।

गृहमन्त्रीको निर्देशनसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको टोलीले शनिवार सो सडकखण्डको स्थलगत निरीक्षण गर्दै यातायात आवागमन सहज बनाउन विभिन्न रणनीतिसमेत अपनाउन थालेको छ ।

निरीक्षणका क्रममा व्यवस्थापकीय कमजोरी र समन्वयको अभाव पहिचान भएपछि त्यसै अनुरुपको रणनीति अपनाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार जाम हुन नदिन तत्कालका लागि सडकमा भैपरी आउनसक्ने समस्याका लागि क्रेन र डोजर जस्ता उपकरण स्ट्यान्डवाई राखिएका छन् । १२ चक्के सवारीलाई १८ असोजसम्म निश्चित समयमा मात्र प्रवेश गर्न पाउनेगरी व्यवस्थापन गरिएको छ ।

१२ चक्के सवारीलाई सवारी चाप हेरेर रातको ९ बजेपछि मात्र प्रवेश अनुमति दिइनेछ । सडकमा ओभरटेकको समस्या देखिएकाले प्रत्येक सय मिटरमा प्रहरी परिचालन गरी सवारी अनुशासनलाई कडाई गरिएको र प्रहरीलाई समन्वयात्मक भूमिकाको जिम्मेवारी दिइएको छ । त्यस्तै सडक विभागले सडकको अवस्था सुधार गर्दै खाल्डाखुल्डी पुर्ने लगायतका कामलाई अगााडि बढाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा यातायात व्यवस्था विभागका निर्देशक तीर्थ निरौला, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालसहितको टोली स्थलगत निरीक्षणका लागि गएका थिए। राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.