समन्वय नगरी सचिव सरुवा गर्दा केन्द्रसँग प्रदेश सरकार आक्रोशित

| 2018 Jun 22 | 11:15 am 3810

काठमाडौं, असार ८: प्रदेश सरकारसँग कुनै समन्वय नै नगरी केन्द्र सरकारले प्रदेशका सचिवहरुको सरुवा गरेपछि प्रदेश सरकार असन्तुष्ट भएको छ । केन्द्र सरकारले समन्वय नै नगरी सचिव सरुवा गरेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रलाई पत्र नै लेखेर चेतावनी दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारका सचिवहरुको सरुवा गरेको छ । प्रदेश सरकारसँग समन्वय नै नगरी आन्तरिक मामिला र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए । बजेट आएको एक सातामै आर्थिक मामिला मन्त्रालयका सचिवलाई केन्द्रमा तानिएको छ ।

यस्तै आन्तरिक मामिला सचिवलाई प्रदेश २ कै सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । प्रदेश सरकारले प्रहरी ऐनको विधेयक पास गरेलगतै सचिवको सरुवा गरेको भन्दै आन्तरिक मामिलामन्त्रीले असन्तुष्टि जनाएका छन् ।

यसअघि पनि योजना कार्यान्वयनको समयमा भौतिक पूर्वाधार सचिवको सरुवा भएको थियो । सामान्यत प्रदेशमा सचिवहरु जान मान्दैनन् । मुस्किलले गएकाहरुलाई घुलमिल हुन पनि समय लाग्छ । तर, केन्द्र सरकारले प्रदेश सरकारसँग समन्वय समेत नगरी छिटोछिटो सचिव सरुवा गर्दा काम गर्न अप्ठ्यारो भएको छ ।

‘बजेट आएको एक साता नहुँदै सचिव सरुवा गरेपछि कसरी काम गर्ने ?’ एक अधिकारीले भने, ‘केन्द्र सरकारले प्रदेशलाई सहयोग होइन, भाँडभैलो मच्चाउन खोजेको त होइन ?

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र नै लेखेर प्रदेश सरकारसँग समन्वय नै नगरी सचिव र अन्य कर्मचारीहरु सरुवा गर्दा अन्यौल सृजना भएको बताएका छन् ।

प्रधानमन्त्री कार्यालयलाई समेत बोधार्थ दिइएको पत्रमा सचिव तथा कर्मचारीको पदस्थापन, सरुवा तथा काज फिर्ता गर्नु अगाडि समन्वय गर्न आग्रह गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.