काठमाडौं, असाेज ७: प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले आज (मंगलबार) सरकारविरुद्ध देशभर जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गर्ने भएको छ।
दोस्रो चरणको जागरण अभियानअन्तर्गत अन्तिम दिन आज हरेक जिल्लामा सरकारका गलत क्रियाकलापका विरुद्ध विरोध प्रदर्शन र सभा आयोजना गर्न लागेको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको देशव्यापी विरोध प्रदर्शन बढ्दो महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या र सरकारले ल्याएको अलोकतान्त्रिक विधेयकविरुद्ध हुनेछ।
बीपी कोइरालाको १०६औं जन्मजयन्तीका अवसर पारि भदौ २४ गतेदेखि शुरू भएको हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान यो विरोध प्रदर्शन र सभासँगै समापन हुने उनले बताए।
सरकारको गलत क्रियाकलापविरुद्ध जनमत सिर्जना गर्दै पार्टी संगठनलाई अझ सशक्त बनाउने उद्देश्यका साथ आयोजित दोस्रो चरणको जागरण अभियान प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित थियो।
यो अभियानका लागि कांग्रेसले ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको थियो।सरकारविरुद्ध प्रदर्शन र सभाका लागि सबै जिल्लामा तयारी भइसकेको भन्दै प्रवक्ता शर्माले जिल्लास्तरीय प्रदर्शनमा स्थानीयस्तरका मुद्दालाई पनि प्राथमिकताका साथ उठाइने बताइएकाे छ ।
कांग्रेसको देशव्यापी विरोध प्रदर्शनीमा शान्ति सुरक्षा मजबुत राख्न सुरक्षा निकाय उच्च सतर्कताका साथ बसेको गृह मन्त्रालयले जनाएको छ। नेपाल समाचारपत्रमा