गौतम कास्कीबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न अस्वीकार

| 2019 Sep 22 | 07:45 am 1766

काठमाडौं, असाेज ५: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कास्कीबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने चर्चालाई अस्वीकार गरेका छन्।

आगामी मंसिरमा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वामदेवलाई शनिबारको केन्द्रीय सचिवालय बैठकमा कास्कीको रिक्त प्रतिनिधिसभा पदमा उम्मेदवार बन्न प्रस्ताव गरेका थिए।

कास्कीबाट रवीन्द्र अधिकारी निर्वाचित भएका थिए। उनको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र अहिले खाली छ। त्यहाँ आउँदाे मंसिर १४ गते उपनिर्वाचित हुँदैछ। यसलाई मध्यनजर गर्दै अध्यक्षद्वयसहित नेताहरुले वामदेवलाई उम्मेदवार बन्न प्रस्ताव गरेका थिए।

तर, गौतमले प्रस्ताव अस्वीकार गर्दै उम्मेदवारी नदिने जानकारी गराएका छन्। जानकारीमा मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु, ‘तर मैले उम्मेदवारी नदिने स्पष्ट पार्न चाहन्छु।’ भनेर जनाएका छन् ।

गौतमले यसअघि २०७४ को निर्वाचनमा बर्दियामा चुनाव हारेको स्मरण गर्दै भनेका छन्, ‘उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो। तर, म पराजित हुनुपर्यो। त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो।’

उनले कास्कीमा आफू उपयुक्त उम्मेदवार नभएको पनि टिप्पणी गरेका छन्। ‘म भन्दा अरु कोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ’, गौतमले भनेका छन्, ‘कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ। यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु। साे कुरा जानकारी गराए । नागरिक न्युज दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.