काठमाडाैं, असाेज ४: राष्ट्रिय गौरवको काठमाडाैं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको क्रममा हटाइएका रुख विरुवाहरुको बदला वृक्षारोपण गर्ने कार्यक्रम अन्तर्गत संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को पुनित अवसरमा शनिबार कोल्हवी न.पा, डिभिजन वन कार्यालय तथा द्रुतमार्ग सडक आयोजनाको संयुक्त सहभागितामा बारा जिल्लाको कोल्हवी नगरपालिकामा बृहत वृक्षारोपण प्रारम्भ भएको छ ।

कोल्हवी न.पा.वडा नं.८ शान्तिटोल स्थित राष्ट्रिय वन क्षेत्रमा रहेको ५.६१ हेक्टर खाली जग्गामा टिक, सिमल, सिरिश तथा जामुन जातका करिब ५ हजार गोटा नयाँ विरुवा रोपिएका छन् । सोही क्षेत्रमा आफैं उम्रिएका करिब ३ हजार गोटा साल तथा अन्य जातका रुख विरुवाहरु लगायत नयाँ रोपिएका विरुवाहरुलाई तारबार गरि संरक्षण गर्ने कार्य समेत भएको छ ।
वन तथा भू-संरक्षण विभाग र द्रुतमार्ग आयोजना बीच भएको द्विपक्षीय समझदारी पत्र अनुरुप द्रुतमार्ग निर्माणको क्रममा हालसम्म हटाई सकिएका रुख संख्या १७ हजार ९ सय ४९ गोटा र भविष्यमा पुल तथा सुरुङ्ग निर्माणका लागि हटाउनु पर्ने रुख संख्या करिब २ हजार गोटा समेत गरी कुल रुख संख्या १९ हजार ९ सय ४९ गोटाको बदलामा 1M25 को अनुपातमा निकट भविष्यमा करिब ५ लाखको संख्यामा विरुवा रोप्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।
उक्त लक्ष्य अनुसार आयोजनाले गत वैशाखदेखि बारा जिल्लाको निजगढ तथा मकवानपुर जिल्लाको राजदमार ईलाकामा आफ्नै नर्सरी स्थापना गरी जमिन सुहाउँदो र छिटो बढ्ने विभिन्न प्रजातिका करिब १ लाख ५० हजार विरुवाहरु उत्पादन गरिसकेको छ भने आवश्यकता अनुसारका थप विरुवाहरु निरन्तर उत्पादन गर्दै फलफुलका विरुवाहरु समेत संकलन गरि वृक्षारोपण गर्ने योजना रहेको छ ।

बारा जिल्लाको निजगढ र कोल्हवी नगरपालिका अन्तरगतका विभिन्न सामुदायीक वन तथा राष्ट्रिय वन क्षेत्रमा खाली रहेका जग्गाहरुको पहिचान गरी सम्बन्धित सरोकारवालाहरु सहितको संयुक्त टोलीले हालसम्म करिब हेक्टर खाली जग्गाको सर्भे सम्पन्न गरिसकेको छ ।
साथै भविष्यमा बारा र मकवानपुर जिल्लामा समेत थप खाली जग्गाहरुको पहिचान र सर्भे कार्य निरन्तर गर्ने योजना रहेको छ । डिभिजन वन कार्यालयबाट उपलब्ध हुने करिब ३ सय १५ हेक्टर सरकारी खाली जग्गाका प्लटहरुलाई आवश्यक फेन्सिङ्ग, सिचाई तथा संरक्षणको
व्यवस्था गरि ५ वर्षसम्म विरुवा हुर्काई सम्बन्धित डिभिजन वन कार्यालयलाई पुनः हस्तानन्तरण गर्ने योजना अनुसार आयोजनाले वृक्षारोपणको कार्यलाई तिब्र गतिमा अगाडि बढाईरहेको छ ।
उक्त वृक्षारोपण कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायका जनप्रतिनिधीहरु, नेपाली सेनाका सकलदर्जा, सुरक्षा निकायका प्रमुखहरु, सम्बन्धित सरोकारवाला निकायहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय बासिन्दाहरुको समेत उल्लेख्य रुपमा उपस्थिती रहेको थियो ।