यसरी स्थापना गरियो प्रजातन्त्र रेडियो

| 2019 Sep 21 | 08:50 am 2683

वार हेडक्वार्टर रघुपति जुटमिल्सबाट क्रान्तिमा खटिएका देशभरका मोर्चालाई बीपीको आदेश जाने गर्थ्याे । विराटनगरमा राणा र मुक्तिसेनाबीच घमासन चलिरहेकै थियो । एकदिन दिउँसो तारिणी गोलीठ्ठा लिन लडाइँको मोर्चाबाट सीधै हेडक्वार्टरस्थित बीपीको कक्षतर्फ जाँदै थिए । त्यतिबेला बीपीचाहिँ वायरलेसबाट पूर्वी नेपालका पहाडी जिल्ला ओखलढुङ्गा, धनकुटा, इलामतिरका कमाण्डरलाई धमाधम सन्देश दिने र उनीहरुबाट रिपोर्ट लिने काममा व्यस्त थिए ।

उनको कोठाबाहिर ढोकामा लेखिएको थियो–वार कमान्ड । स्टेनगन बोकेर ढोकामा खडा स्वयम्सेवकलाई तारिणीले सोधे, बेकर कता हुनुहुन्छ ? क्रान्तिताका बीपीको पध्म नाम थियो (बेकर) । सिपाहीले भने वायरलेसबाट बाहिरका मोर्चालाई आदेश दिन व्यस्त हुनुहुन्छ । मुक्तिसेनासँग गोलीको स्टक सकिएको थियो । दुईतीन ओटाभन्दा बढी गोली कसैसँग थिएन । शत्रुले आक्रमण गरिहाले प्रतिकार गर्ने क्षमता थिएन । तारिणी सीधै बीपीको कक्षमा पुगे । दाजुको अनुहार नियाले । जस्तोसुकै संकटमा समेत हँसमुख रहने बीपीको अनुहार पढ्न उनलाई समय लागेन । तारिणीले सिपाहीसँग गोली नभएको जानकारी दिए ।

एकछिन घोत्लिएर बीपीले भने, भोलि दिउँसो नभई गोलीको व्यवस्था हुन सक्दैन । हाम्रा सिपाहीहरुले शत्रुको मोर्चालाई केवल घेरेर मात्र राखुन । एक फायर पनि नगरुन् । आजको रात बिताएपछि भोलि गोली सप्लाई गरिन्छ । तिमी जाऊ म सुत्छु । बीपीको आदत नै थियो जबजब उनी असाध्यै चिन्तित हुन्थे र कुनै उपाय नदेखेर हडबडाउँथे, मस्तसाग सुतिदिन्थे । तारिणी कोठाबाट बाहिरिनासाथ ढोकामै मुक्तिसेनका कमान्डर याक्थुम्बा देखिए ।

गोलीकै विषयमा बीपीसँग जानकारी गराउन प्रतीक्षारत थिए उनी । तारिणीको कुरा सुनेर याक्थुम्बाले भने, भो म उहाँलाई चिन्ता थप्न चाहान्नँ । याक्थुम्बा बीपीको कक्षमा नपसेरै त्यहीँबाट फर्किए । तारिणी एकदमै अत्तालिएका थिए । त्यो रात ज्यान जोगाउन पाए भोलि त गोली आइहाल्थ्यो । उनको मनमा कुरा खेल्न थाले । गोलीबिनाको बन्दुकका भरमा कसरी राणाको फौजसँग मुकाबिल गर्ने ? ठीक त्यसैबेला वायरलेसको आवाज सुनियो । हेलो भोजपुर.. भोजपुर । ल सकियो यहाँ त यो हाल छ भने त्यो पहाडमा के होला ? तारिणीको मनमा यस्तै कुरा खेलिरहेको थियो । उनको सोचइविपरीत भोजपुरबाट सन्देश आयो, तपाईहरु निश्चित रहनोस् । हाम्रा सिपाहीहरु उत्साही छन् । विराटनगरबाट गई तमोरमा रोकिएका सिपाहीहरुलाई हामी यताबाट मद्दत पुर्याउँछौं, पश्चिमबाट हमला गछौं ।

नुन खाएको कुखुरा जस्तो भइसकेका मुक्तिसेनका कमान्डरहरुलाई भोजपुरको सन्देशले एकै पटक कैयौं भोल्टको ऊर्जा थपिदियो । दोस्रो विश्वयुद्धबाट फर्किएका सिपाहीले भोजपुर कब्जा भएको पाँचौ दिनबाट रेडियो प्रसारण थालेका थिए । राणाकालको आकाशवाणी वायरलेस प्रयोग गरी तयार गरिएको रेडियो स्टेसनबाट आएको त्यो सन्देशले विराटनगरका क्रान्तिकारीलाई ठूलै शक्ति प्राप्त भयो । भर्खर युद्ध मोर्चाबाट आएकाले तारिणीको काँधमा कारबाइन बन्दुक झुण्डिएकै थियो । उनलाई लाग्यो, मानौं एकै पटक उनले लाखौं गोली पाएका छन् । आवाजले गोलीको काम गर्यो । यही आवाज किन प्रयोग नगर्ने ? उनी वायरलेस अफिसमा छिरे ।

क्रान्तिकारीहरु सरकारी फौजलाई (स्याल) भन्ने गर्थे । वायरलेस हातमा लिएर थ्याच्च कुर्सीमा बसे । जोडले कराउँदै तारिणीले सेटमा भने, हेलो भोजपुर । यहाँको मार्चा पनि बलियो छ । सम्भावतः आज हामी शत्रुको मोर्चाभित्र पस्छौं । भोली उज्यालो हुँदासम्म विराटनगर हाम्रो कब्जामा आइसक्ने छ । त्यसपछि कोसी तर्ने बन्दोवस्त गरिनेछ । आज एक्कासि शत्रुको मोर्चामा हमला गर्ने योजनामा छौं । मुक्तिसेनामा भर्ना हुनका लागि तीन सय स्वयम्सेवकले नाम लेखाइसकेकाले र उनीहरुलाई बन्दुक बाँड्ने तयारी गरेको सन्देश पनि तारिणीले सोही बखत प्रवाह गरिदिए । पहिला गोलीको कमी थियो, अब त्यो पनि पूरा भयो । हामी भोली या पर्सि धनकुटामा भेटौला, जय नेपाल । त्यसपछि ट्रान्समिटरको स्विच अफ भयो ।

साथीहरुले खुसी भएर बधाई दिँदै भने, गज्जब गर्यौ, तारिणी गज्जब गर्यौ । हजारौं गोली एकै पटक पड्कायौं, शत्रुको होस उड्यो होला । अब रातभरि हामीलाई ढुक्क भो । हामी कुनै पनि बेला हमला गर्न सक्छौं भनेर शत्रुहरु रातभरि मार्चामा सास बाँधेर पर्खिरहेकाछन् । हाम्रो माेर्चाभित्र आउने प्रयत्न पनि गर्ने छैनन् । विराटनगरबाट दुई सय माइल टाढा कुनै ठाँउमा प्रशस्तगोली आइपुगेको थियो । गोली लिन तारिणीलाई खटाउँदै बीपीले भने, भोली त्यहाँ पुग्नसाथ चौरमा सानो हवाइजहाज पाउनेछौं । त्यसैमा सबै गोली गठ्ठा लगार भोलि नै आँपको बगैचाछेउको चौरमा ओर्लिनू । जहाज ओराल्ने भनिएको मैदान निकै सानो रहेको जानकारी दिँदै तारिणीले भने, कसरी त्यहाँ उतार्ने सान्दाइ ? चारैतिरबाट आँपको बगैंचाले घेरिएको छ । छेउमा ठूलो पैनी छ । बीपीले आदेश दिए, भोलि ११ बजे त्यस ठाउँमा गोली गठ्ठा ओसार्न म ट्रक र केही मानिस पठाउँछु, ठिक ११ बजे । ल तिमी अहिले जाऊ । क्रान्तिमा प्रयोग गर्न कांग्रेसले सानो एलफाइभ जहाजको व्यवस्था गरेको थियो ।

क्रान्तिका क्रममा देशभरको अवस्था निरीक्षण गर्ने र आवश्यक गोलीगठ्ठा ओसारपसार गर्ने काममा त्यही जहाज प्रयोग भएको थियो । भोलीपल्ट ठीक ११ बजे त्यही चौरमा जहाज ओर्लियो । तारिणी लेख्छन्, चौरमा चक्का परेपनि धान खोत, पैनी अनि गाँजको खेत, आली, धुर हुँदै एउटा सानो गाउँमा पुगेर पो त्यो जहाज रोकियो । त्यसको पाङ्ग्रा दोब्रियो, भुइँ लछारियो । तर आगो लागेन मलाई साधरण चोट लाग्यो । पछि आठदश जना मिलेर घिसार्दै जहाज चौरमा ल्यायौं ।

अघिल्लो दिनको रेडियो सन्देशले राणाहरुको सातोपुत्लो उडिसकेको थियो । मुक्तिसेना उत्साहित थिए । त्यही मध्यरात तारिणीले घोषणा गरे, भोली दिउँसो दुई बजेदेखि रेडियो प्रसारण गर्नुपर्छ । त्यसमा नियमित रुपमा क्रान्तिकारी गीत प्रसारण हुन थाले ।

नेपाली अघि बढ हातमा क्रान्ति झण्डा ली ।
क्रान्ति झण्डा ली, नेपाली ।
आऊआऊ दाजुभाइ, आऊ दिदीबहिनी,
अब हामी अघि बढौं, काँधमा काँध मिलाई ।
पछि नसरौं अबदेखि जेजे परे पनि ।

रानुदेवी अधिकारीको यही गीतले सात सालको क्रान्तिमा ऊर्जा थपेको थियो । २०७० सालमा संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस सभापति सुशील कोइराललाले प्रायः सबै जसो भाषणमा यही गीत गाउने गरेका थिए । त्यो बेला तारिणीले रचना गरेका पाँच र अरुका केही गीत पनि रेडियोबाट प्रसारण गरिएको थियो । ती गीतले प्रजातन्त्रको पक्षमा जनमत बनाउन राम्रै योगदान गरेका थिए ।

यो प्रजातन्त्र रेडियो नेपाल हो । हामी मुक्तिसंग्रामको कुनै अज्ञात मोर्चाबाट बोलिरहेको छौं । प्रजातन्त्र रेडियो नेपालले पहिलो पटक प्रसारण गरेको सन्देश यही थियो । क्रान्तिकारी रेडियोले सशस्त्र क्रान्तिमा उत्साह मात्र थपेन, राणाहरुको अत्याचारबारे जनतालाई जागरुक बनाएर शासकको होसहवाससमेत उडाइदियो । जुटमिल्सको एउटा कोठालाई साउण्डप्रुफ जस्तो बनाएर मंसिर २८ गते रडियो प्रसारण गरिएको थियो । त्यति बेला विराटनगरबाट प्रसारित क्रान्तिको आवाज सुन्न नसकेर कमान्डर इन चिफ बबर शमशेले लात्ताले हानी रेडियो नै चकनाचुर बनाइदिएका थिए ।

तिनताका प्रजातन्त्र रेडियो सुन्न काठमाडौंका पसलहरुमा ठूलो भीड लाग्ने गथ्र्यो । एकदुई पटक त रेडियो सुन्न जम्मा भएको भीड पुलिसले लाठीचार्जसमेत गरेको थियो । त्यो रेडियोले काठमाडौंको खबर पनि प्रसारण गथ्र्यो । राणाहरुले सुइँको नपाउने गरी लुकिछिपी काठमाडौंको रिपोर्टिङ प्रकाशमान सिंह (पछि उनी रेडियो नेपालका निर्देशकसमेत भए) ले गर्थे । लैन (बेलायती दूतावास, लैनचौर) पोष्ट अफिसबाट चिठी पठाउँथे । तर समाचारदाताको नाम गोप्य राखिन्थ्यो । ४१ मिटर सर्टवेभमा प्रसारण भएको रेडियोमा तारिणीप्रसाद कोइरालाले नेपाली, फणीश्वरनाथ रेणुले हिन्दी र बीपीकी बहिनी विजयालक्ष्मीले अङ्ग्रेजीमा समाचार वाचन गर्थे ।

मुक्तिसेना र राणाफौजबीच भीषण गोली हानाहान चलिरहँदा एक दिन तारिणीले इन्जिनियरलाई ट्रान्समिटर फाइरिङ लाइनमा लगेर प्रसारण गर्न सके क्रान्तिका लागि ठूलो फइदा हुने बताए । अनि हतारहतार सबै सामान ट्रकमा राखियो । धानको खेतैखेत सिङ्ग्याही नदी किनारमा पुगेर ट्रक रोकियो । भीषण गोलाबारीको आवाज आइरहेको थियो । क्षणभरमै नदी किनारको बालुवामा स्टेसन खडा गरियो । जेनेरेटर भएको ट्रक नदीको डिलमा थियो । छेवैका दुई ठूला सिमलका रुखमा एरियल राखियो । कुनै पनि बेला राणाफौजले आक्रमण गर्न सक्ने खतरा थियो । शत्रुको मुकाबिल गर्न हतियारले सुसज्जित पाँचछ जना स्वयम्सेवक तैनाथ गरिए । तिनताका तारिणीको काँधमा कारबाइन बन्दुक टुट्दैनथ्यो । दोहोरो युद्धको खबर आम जनताको घरआँगनमासम्म पुर्याउन चाहान्थे उनी । नेपाली रेडियोको इतिहासमा युद्ध मैदानबाट भएको त्यो नै पहिलो लाइभ रिपार्टिङ थियो ।

अपराह्न दुई बजे तारिणीले माइक समाए, यो प्रजातन्त्र नेपाल रेडियो आवाज हो । आजको प्रोग्राम हामी मोर्चाको फायरिङ लाइनबाट ब्रोडकास्ट गरिरहेका छौं । हाम्रो जेनेरेटर सिङ्ग्याही नदीको डिलमा उभिएको ट्रकमा छ र ट्रकमुनि ट्रान्समिटरमा राखिएको छ । सुरक्षाका दृष्टिले हामीले हाम्रा कलाकारलाई नदीको डिलमुनि पानीछेउको बालुवाका राखेका छौं र माइक पनि यहीँ छ । त्यही बेला दुई, तीन इन्चका मोर्टार पड्किएको आवाज लगातार केहीबेरसम्म आइरह्यो । तारिणी रिपोर्टिङ गरिरहेका थिए, यो आवाज जो तपाईहरु सुन्दैहुनुहुन्छ । फायरिङ लाइनबाट आएको मोर्टारको आवाज हो ।

राइफल र मोर्टारको आवाजका बीच प्रसारण भएको रेडियो सन्देशले क्रान्तिको पक्षमा माहोल बनाउन राम्रै भूमिमा खेल्यो । प्रजातन्त्र नेपाल रेडियोबाट एक दिन प्रसारण भएको समाचार यस्तो थियो, आज हाम्रो मुक्तिसेनाले १४ दिनदेखि घेरामा पारेर राखेको शत्रुको गढलाई छिन्नभिन्न पारी सम्पूर्ण विराटनगर आफ्नो कब्जामा पार्यो । अब मोरङ जिल्लाको एक इन्च भूमि पनि शत्रुको हातमा छैन । विराटनगर कब्जा गरेपछि रेडियो बडाहाकिम बस्ने गोस्वारा भवनमा सारियो । प्रजातन्त्र स्थापनापछि बीपीको आदेशमा त्यही रेडियोले(२००७ साल चैत २० गतेदेखि) काठमाडौंबाट नियमित प्रसारण सुरु गर्यो । क्रान्तिकालमा जन्मिएको त्यही प्रजातन्त्र नेपाल रेडियो नै आजको (रेडियो नेपाल) हो । जगत नेपालद्वारा लिखित  बीपीकाे विद्राेहबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.