काठमाडौं, असाेज ३ : डिफेन्डिङ च्याम्पियन नेपाल साफ यु-१८ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्ससँग बराबरीमा रोकिएको छ । हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग १/१ गोलको बराबरीमा रोकिएको हो ।
समूह ‘ए’ मा रहेको साविक विजेता नेपाल पहिलो हाफमा पछि परेको दोस्रो हाफमा पुनरागमन गोल गरेको हो । सुरुमै गोल खान पुगेको थियो। खेलकाे १३ औं मिनेटमा माल्दिभ्सले पेनाल्टी गाेलमार्फत अग्रता लिएकाे थियो । पेनाल्टी बक्समा राेशन दाेङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा कप्तान आफैले सहजै गाेल गरेका थिए ।
एक गोलले पछि परेको नेपालले त्यसयता बल पोजिसनमा सुधार गरेपनि पहिलो हाफमा गोल गर्न सकेन। २० औं मिनेटमा ब्रिजेश वान भर्सेस वानमा चुक्दा नेपाल बराबरीबाट चुक्याे । ४१ औं मिनेटमा मनिष डाँगीकाे गाेलपाेस्टमा प्रहार गरेका थिए तर गाेलरक्षकले सहजै बचाए ।
दोस्रो हाफमा नेपालले आधा दर्जन गोलको अवसर सृजना गरेको थियो। ५३ औं मिनेटमा बिर्जेस चौधरीको शशक्त प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो। ६३ औं मिनेटमा कप्तान जय गुरुङको प्रहार माल्दिभ्सका गोलरक्षकले बचाएका थिए।
७१ औं मिनेटमा नितिन थापाकाे प्रहार क्रसबारमा लाग्दै फर्कदा नेपाल बराबरीबाट चुक्याे । लगातार पाेस्ट आक्रमण बुनेकाे नेपालका लागि मनिष डाँगीले ७४औं मिनेटमा बराबरी गाेल फर्काए । दाेस्राे हाफमा माल्दिभ्सले नेपालकाे पाेस्टमा एक आक्रमण मात्रै बुन्याे ।
इन्ज्युरी समयमा ब्रिजेशकाे प्रयास गाेल रक्षकले बचाए ।त्यसपछि दुवै टाेलीबाट थप गाेल निस्कन नसक्दा खेल १-१ गाेलकाे बराबरीमा सकियाे ।