सुर्खेत, असाेज २: कर्णाली प्रदेश सरकारले आफ्ना सम्पूर्ण नागरिकको सामूहिक दुर्घटना बिमा गरेको छ। सरकारले सो बिमाका लागि चालू आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ छुट्ट्याएको थियो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले बुधबार आयोजित एक कार्यक्रमबीच बिमासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
यो सहमतिसँगै कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकले दुर्घटनामा परी ज्यान गुमाएको अवस्थामा सम्बन्धित परिवारलाई बिमाबापत तोकिएको रकम प्राप्त हुनेछ। आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले विपद् जोखिमविरुद्ध सम्पूर्ण कर्णालीका नागरिकको सामूहिक बिमा गरिएको सपष्ट पारे।
भूकम्प, आगलागी, चट्याङ, बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा मृत्यु हुनेका परिवारले यस कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ पाउनेछन्, मन्त्री भण्डारीले भने, प्राकृतिक विपत्ति अधिक हुने प्रदेश भएकाले पनि बिमा कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याएका हौं।
प्रदेश सरकारले राष्ट्रिय बिमा कम्पनीमार्फत कर्णालीवासीको बिमा गरेको हो। प्रदेश सरकारले प्रत्येक नागरिकका तर्फबाट सात रुपैयाँका दरले राष्ट्रिय बिमा कम्पनीलाई प्रिमियम बुझाएको छ। बिमितको कर्णाली प्रदेशबाहिर र अन्य प्रदेशका नागरिकको कर्णाली प्रदेशमा भएका प्राकृतिक विपत् र दुर्घटनामा परी मृत्यु भएको अवस्थामा भने सो बिमाबापतको रकम नपाइने सम्झौतामा उल्लेख छ।
मन्त्री भण्डारीले प्रदेशवासीको जीवनबिमा सामान्य देखिए पनि यसले दीर्घकालीन रूपमा प्रभाव पार्ने बताए। ‘केही यस्ता कार्यक्रम हुन्छन्, हेर्दा सामान्य लाग्छन् तर त्यसले दीर्घकालीन रूपमा गहिरो प्रभाव पार्छ, प्रदेश सरकार, बिमा संस्थान र सरोकारवाला सबै मिलेर प्रभावकारी कार्यान्वयन गर्नेतर्फ लाग्नु आवश्यक छ।
त्यस्तै प्रदेश सरकारले चालू आवभित्रै जोखिममा रहेका कर्णालीका १० हजार घरको बिमा गर्ने तयारी गरेको छ। विपद्का कारण घरमा क्षति पुगेमा प्रतिघर ५ लाख रुपैयाँको बिमा सुविधा दिइने मन्त्री भण्डारीले जानकारी दिए। नागरिक न्युज दैनिकबाट