काठमाडौं, भदाै २९: नेपाल राष्ट्र बैंकले आइतबारदेखि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा ल्याएको छ। अबदेखि भुक्तानी दिन चेक काट्नुपर्ने बाध्यतालाई अन्त्य गरेको हाे।
यस प्रणालीबाट कुनै पनि भुक्तानी दिने व्यक्ति वा संस्थाले बैंकमा उपस्थित भइ सामान्य फारम भरेर भुक्तानी अनुमतिका लागि आग्रह गरेको खण्डमा तुरुन्तै भुक्तानी हुने व्यवस्था मिलाइएको छ।
यस्तो भुक्तानी पाँच मिनेटदेखि आधा घन्टाभित्र प्राप्त गर्नेको खातामा जम्मा भइसक्छ। राष्ट्र बैंकले दुई लाखदेखि माथिको भुक्तानीमा यो प्रणाली प्रयोग गर्न सकिने बताएको छ।
चेकबाट गर्ने भुक्तानीको तुलनामा यो प्रणाली चुस्त र लागतप्रभावी हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए।
संसारभरी नै डिजिट भुक्तानीको प्रचलन रहेकोमा नेपालमा पनि यो प्रणालीको प्रयोगबाट सहज, छिटो, छरितो र भरपर्दो भुक्तानी प्रणाली विकास हुने विश्वास लिएकाे मिश्रले बताए ।
स्वचालित प्रकारको भुक्तानी प्रणालीको उपयोगबाट कम जनशक्तिले धेरै कार्य सम्पादन गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।