भारतमा भएका नेपालीले रेमिट्यान्स कम्पनीमार्फत रकम निकाल्न पाउने

| 2019 Sep 15 | 08:06 am 2137

काठमाडौं, भदाै २९: एउटा बैंकको एटीएम कार्ड अर्को बैंकमा नचलेको कारणले भारतमा अलपत्र परेका नेपालीले रेमिट्यान्स कम्पनीमार्फत रकम निकाल्न पाउने भएका छन् । शुक्रबार राष्ट्र बैंक, सम्बन्धित बैंक तथा वित्तीय संस्था र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) बीच यस्तो सहमति भएको हो ।

नयाँ व्यवस्थाअनुसार भारतमा रहेका नेपालीले त्यहाँ स्थित आईएमई र प्रभु रेमिट्यान्सको सम्पर्क कार्यालयमार्फत रकम भुक्तानी लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘नेप्सको सिस्टमअन्तर्गतका बैंक तथा वित्तीय संस्थाले भारतस्थित नेपाली रेमिट्यान्स कम्पनीको कार्यालयमार्फत रकम भुक्तानी लिन सक्नेछन्,’ उनले भने, ‘यसबारेमा बैंक, नेप्स, सम्बन्धित रेमिट्यान्स कम्पनीबीच सहमति भएको छ ।’

बुधबार नै राष्ट्र बैंकले भारतमा अलपत्र परेका नागरिकले आफूलाई जानकारी गराए २४ घण्टाभित्र रकम निकाल्ने सुविधा प्रदान गरिदिने बताएको थियो । सोहीअनुसार सबै विदेशमा रहेका नेपालीले धमाधम राष्ट्र बैंकमा विभिन्न माध्यमबाट जानकारी गराइरहेका छन् ।

राष्ट्र बैंकले शनिबारसम्म एकजनालाई पनि सुविधा दिन सकेको छैन । यो कुरा राष्ट्र बैंकका प्रवक्ता पनि स्वीकार गर्छन् । ‘शनिबारसम्म एकजनाले पनि भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘यसमा सम्बन्धित बैंकहरू जिम्मेवार भएको देखिएन ।’ कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.