राेल्पामा पहिराेले घर पुरिदा, २ काे शव फेला ४ बेपत्ता

| 2019 Sep 13 | 01:00 pm 1976

रोल्पा, भदाै २७: गएराति मध्यरातमा वर्षासँगै आएका पहिराेमा परी थबाङ २ छेर्लबाङमा ६ जना पुरिएका छन्। उक्त पहिरोमा पुरिएका मध्ये २ जनाको शव निकालिएको प्रहरीले जानकारी दिए। पुरिएको घरमा दुई परिवारका ६ जना बस्दै आएकाे बुझिएकाे छ।

ढुंगे घरको माथिल्लो तलामा बस्दै आएकी २८ वर्षीय शीरकुमारी बुढा र उनका ४ वर्षका छोरा असलको शव पुरिएको अवस्थामा गाउँलेले र प्रहरीले शुक्रबार बिहान फेला पारेकाे प्रहरीले बताए ।

गाउँलेले दिएका जानकारी अनुसार सुतेकै अवस्थामा पहिरोले च्यापिएर मृत अवस्थामा उनीहरू फेला परेका बताए । अर्काे परिवारका सदस्यहरू भुइँतलाको कोठामा भएकाले पुरिएको हुनसक्ने अनुमान गरिएको छ।

पहिराेमा परी बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी रहेका छन्। उद्धारमा खटिएका गाउँलेले उनीहरु जीवितै फेला पर्ने सम्भावना कम रहेको बताएका छन्।

घरमा रहेका चौपाया पनि पुरिएर मरेका भेटिएकाे स्थानीयले बताए। ।  घरमाथि खनिएको सडकको माटोसहित आएको पहिरोले  घर पुरिएको  उनले बताए।

घटना पश्चात गाउँलेले बिहानै घटनाबारे प्रहरीलाई खबर गरेका थिए। थबाङ इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्र गुरुङले जानकारी दिएका छन्।  घटनास्थल नजिकैका प्रहरी चौकीबाट पनि  प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.